बिहीबार, वैशाख ३१, २०८३

उपनिर्वाचन परिणाम

सच्चिएला मक्किएको कांग्रेस? अरुलाई पनि पाठ

सिंगो राज्य संयन्त्रलाई कब्जामा लिइरहेका गठबन्धन दलका शीर्ष नेताहरूले चुनावी आमसभाका क्रममा तनहुँ र चितवन पुगेर लोकतन्त्रका नाममा आफ्ना उम्मेदवारलाई भोट मागे पनि जनताले साथ दिएनन्। 
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- दस दलीय गठबन्धन निर्माणमा भूमिका खेलेर सत्तारुढ हुन पुगेको अनि संसद्‍मा सबैभन्दा ठूलो संख्या रहेको नेपाली कांग्रेस १० वैशाखमा सम्पन्न उपनिर्वाचन परिणामपछि सबैको आलोचनाको केन्द्रमा छ।

National life

रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचित हुनुअघि लगातार पाँच पटक सांसद बनाएर पठाएको तनहुँ १ ले यसपटक कांग्रेसले टिकट नदिँदा रिसाएर रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. स्वर्णिम वाग्लेलाई सांसद बनाएपछि पार्टीको भविष्यलाई लिएर कार्यकर्ता पंक्ति निराश हुन पुगेको छ। 

पार्टी सभापति शेरबहादुर देउवालगायत केन्द्रीय पदाधिकारीप्रति कार्यकर्ता पंक्तिबाट मात्र नभई नागरिक समाज र सामाजिक सञ्जाल प्रयोगकर्ताले अक्षम र असफल नेतृत्वका कारण तनहुँ-१ बाट कांग्रेस उम्मेदवारले पराजय भोग्नुपरेको दाबी गरिरहेका छन्।

सभापति देउवाले चुनावअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई चुनावी ‘कमान्डर’ का रुपमा चितवन र तनहुँमा खटाएका थिए। तनहुँमा खटिएका गगन र चितवनको जिम्मा पाएका विश्वप्रकाशले दुवै उम्मेदवारलाई जिताउन सकेनन्। 

चुनावी आमसभाका क्रममा तनहुँ र चितवन पुगेको सिंगो राज्य संयन्त्रलाई कब्जामा लिइरहेका गठबन्धन दलका शीर्ष नेताहरू क्रमशः देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, बाबुराम भट्टराईहरूले भाषणमा स्वर्णिम र रवि लामिछानेमाथि खनिएर लोकतन्त्र धरापमा परेको जिकिर गरे। उनीहरूले गठबन्धनका उम्मेदवारलाई मत दिए गणतन्त्र र लोकतन्त्र बलियो हुने, चितवन र तनहुँबाट गठबन्धनका उम्मेदवारलाई जिताएर मन्त्री बनाइदिने आश्वासनसमेत प्रधानमन्त्री प्रचण्डले दिएका थिए।

तर, जनमतले गठबन्धनका उम्मेदवारलाई तिरस्कृत गर्‍यो भने गठबन्धनलाई रुचाएको देखिएन। बरु संगठनबिनै चुनावी मैदानमा उत्रिएका स्वर्णिम र रविलाई जिताएर कांग्रेस, एमाले र माओवादी नेताहरूको सत्तामोहप्रति जनमत सन्तुष्ट छैन भन्ने देखियो।

उपनिर्वाचनको परिणामले रन्थनिएका कांग्रेस, सभापति देउवा स्वयंले भन्नुपर्‍यो, ‘उपनिर्वाचनमा ठूला दलप्रति चासो देखिएन। पार्टीमा सुधार चाहियो। जनताले हामीलाई रुचाउन छाडे।’ 

सिंगो राज्य संयन्त्रलाई कब्जामा लिइरहेका गठबन्धन दलका शीर्ष नेताहरूले चुनावी आमसभाका क्रममा तनहुँ र चितवन पुगेर लोकतन्त्रका नाममा आफ्ना उम्मेदवारलाई भोट मागे पनि जनताले साथ दिएनन्। 

गत सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीमा सुधार चाहियो भने पनि आफ्नै कारण पार्टीप्रति जनता विरक्तिँदै गएको बुझ्न भ्याएनन्। सत्ताका लागि माओवादीसँग उठबस गरेकै कारण कांग्रेस मक्किँदै गएको देउवाको चेत अहिलेसम्म पनि खुलेको देखिएन।

‘यो उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यति चासो नभएजस्तो देखियो। अब कांग्रेसलाई सुधारेर जान आवश्यक छ। यसो गर्न ढिला भए पार्टी अझै अलोकप्रिय हुनेछ’, सभापति देउवाले भनेका थिए।

उपनिर्वाचन परिणामपछि कांग्रेसभित्र पार्टी र नेतृत्व शुद्धीकरणको विषयलाई मन्थन चलिरहेको छ। यसमा सांसद र मन्त्री कोटा पाउन गुट–उपगुट बनाइरहेका संस्थापन देउवा र संस्थापन इतर शेखर कोइरालासमेतको एउटै बोली सुनिन थालेको छ। शेखर पक्षीय नेता डा. मीनेन्द्र रिजालले हालै सम्पन्न उपनिर्वाचनले पार्टीको चरित्र र गतिशीलता पुनःस्थापित गर्नुपर्ने सन्देश दिएको स्वीकारेका छन्। कांग्रेसले माओवादीसँग सत्ता गठबन्धनमा हिमचिम बढाएकै कारण लोकप्रियताको ग्राफ क्रमशः खुइलिँदै गएको उनको दाबी छ। 

‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई प्रत्ययप्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताका लागि हार्दिक बधाई र सफल प्रतिनिधिसभा कार्यकालको शुभकामना’, रिजालले ट्वीटरमा लेखेका छन्, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रस्ट छ।’

१० वैशाखमा सम्पन्न उपनिर्वाचनमा चितवन-२ बाट रास्वपा सभापति लामिछाने, तनहुँ-१ बाट सोही पार्टीका वाग्ले र बारा २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्।

सभापति देउवाको प्रत्यक्ष निर्देशनमा चितवनमा जितनारायण श्रेष्ठलाई जिताउन खटिएका महामन्त्री विश्वप्रकाश शर्मा पराजयपछि उपनिर्वाचनले कांग्रेसलाई रुपान्तरण हुन सन्देश दिएको र त्यसो नगरे पार्टीको भविष्य झनै अन्धकारतिर जाने दाबी गरेका छन्। 

तीन वटै क्षेत्रको उपनिर्वाचन नतिजा आएपछि विजयीलाई बुधबार बिहान बधाई तथा शुभकामना दिँदै कांग्रेस महामन्त्री शर्माले पुराना दल तथा नेताले आफूलाई सच्याउनुपर्ने आवश्यकता महसुस गरेका हुन्।  

मूलधार विशेषगरी कांग्रेस र एमालेले जनअपेक्षानुसार काम गर्न नसक्दा वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपाप्रति मतदाताको अभूतपूर्व समर्थन देखिएको छ। 

कांग्रेस, एमाले नेतृत्वसँग चिढिएका मतदाताको समर्थनकै कारण रास्वपा १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा तीनमध्ये दुई निर्वाचन क्षेत्रमा अप्रत्याशित नतिजाका साथ विजयी भएको छ। 

गत स्थानीय तह निर्वाचनमा मतदाताले संकेत गरेर ४ मंसिरको आमनिर्वाचनमा सच्चिन स्पष्ट सन्देश दिँदा पनि मूलधारका दलहरू नसच्चिएका कारण उपनिर्वाचनको मतपरिणाम उनीहरूका लागि अनपेक्षित आएको विश्लेषण गरिँदै छ। चितवन २ र तनहुँ १ मा रास्वपाले मतदाताको अभूतपूर्व समर्थन पाएपछि कांग्रेस सशंकित देखिएको छ। उपनिर्वाचनको परिणामले सभापति देउवा झनै आत्तिएका छन्। 

चितवन-१ मा रास्वपा सभापति लामिछानेसँग ठूलो मतान्तरले पराजित कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले मत परिणामले कांग्रेसलाई नसच्चिए सक्किन तयार होऊ भन्ने संकेत गरेको बताएका छन्। जनताले दिएको म्यान्डेटअनुसार कांग्रेस नेतृत्व सच्चिनुपर्ने उनको भनाइ थियो।

‘मत परिणामले ठूला दलहरूलाई या सक्किऊ, या त सच्चिऊ भनेको छ। अब कि दलहरू सक्किनुपर्छ, कि त सच्चिनुपर्छ,’ मतगणनाको नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा श्रेष्ठले भनेका थिए, ‘हामीलाई सक्किन मञ्जुर छैन। त्यसैले सच्चिने हो। हामी हाम्रो पार्टी पनि सच्याउँछौं। पार्टीभित्र भएका कमी–कमजोरी पनि सच्याउँछौं। हामी जनताको अपेक्षा पूरा गर्न सच्चिने हो। सच्च्याउने नै हो। सक्किन मञ्जुर छैन।’

‘चितवनमा मतदाताले कांग्रेस र एमालेप्रति वितृष्णा देखाए। तनहुँको नतिजाले स्वर्णिम वाग्ले कांग्रेसकै बागी उम्मेदवार हुन्। पार्टीमा अवसर नपाएका क्षमतावान् पीडित हुन् भन्ने सहानुभूति र प्रतिक्रिया देखियो,’ श्रेष्ठले भने।

नेता शेखर कोइराला उपनिर्वाचनमा कांग्रेसले सहेको हारको दोष सभापतिमाथि मात्रै थोपर्न नमिल्ने र यसको समीक्षा गम्भीर रुपमा हुनुपर्ने औंल्याउँछन्। उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको उनको भनाइ छ।

उनले भने, ‘उपनिर्वाचनमा पुराना दल खासगरी कांग्रेस, एमालेलाई भोट नगएर नयाँलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको छ। यसमा कांग्रेस झनै गम्भीर हुनुपर्छ।’ उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिन जरुरी छ।’

सत्तारुढ नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दलहरूले आफ्ना कमी–कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका छन्। मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा उपनिर्वाचनको परिणामबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष नेपालले दलहरूले आफ्ना कमी–कमजोरी नसुधारे झन् क्षति बेहोर्नुपर्ने दिन आउनेतर्फ सचेत गराए।

एमाले सचिव योगेशकुमार भट्टराईले उपनिर्वाचनको मत परिणामले ठूला दलहरू रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाएको बताउँछन्। एमालेले गरेका काम जनतासम्म पुर्‍याउन नसकेका कारण उपनिर्वाचनमा पराजित हुनु परेको उनको बुझाइ छ।

आगामी दिनमा जनताले कांग्रेस अनुहारलाई मन नपराउनुको कारणबारे पार्टीमा बृहत् छलफल गरेर अगाडि बढ्नुपर्ने सांसद रामहरि खतिवडा बताउँछन्। 

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपनिर्वाचनको मत परिणामले ठूला र पुराना पार्टीहरूलाई चुनौती खडा गरेको दाबी गर्छन्। निर्वाचनमा गठबन्धन हुँदासमेत उम्मेदवारलाई जनमतले तिरस्कार गर्नु भनेको पुराना राजनीतिक दलप्रति वितृष्णा देखिएको उनको बुझाइ छ। 

प्रकाशित: Apr 26, 2023| 17:54 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्