बिहीबार, वैशाख ३१, २०८३

उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत, १७ जनाको मत १० भन्दा कम

प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ। 
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- यही वैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो।

National life

तीन क्षेत्रमा भएको उपनिर्वाचनमा ६५ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए। निर्वाचनमा सहभागीमध्ये ८६.१५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको छ।

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित हुँदा चितवन–२ मा रास्वपाकै उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्। तीन उम्मेदवार निर्वाचित हुँदा बाँकी प्रतिस्पर्धीमध्येका ६ उम्मेदवारले मात्रै जमानत जोगाउन सकेका छन्।

प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ। 

तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालबाहेक अरूले जमानत जोगाउन सकेनन्। यसैगरी चितवन २ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेबाहेक अरूले जमानत जोगाउन सकेनन्।

बारा २ मा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा र एमालेका पुरुषोत्तम पौडेलबाहेक अरूले जमानत जोगाउन सकेनन्। दुई क्षेत्रमा रास्वपाले चमत्कार गर्दा बारा २ मा भने रास्वपाले जमानत समेत जोगाउन सकेन। त्यहाँ रास्वपाका उम्मेदवार पूर्वडीआईजी रमेश खरेलले २  हजार ८२९ मतमात्र पाए।

उपनिर्वाचनमा उठेका कतिपय उम्मेदवारले १० मत पनि कटाउन सकेनन्। बारा २ का स्वतन्त्र उम्मेदवारहरू उमेश प्रसाद यादव, जितेन्द्र प्रसाद यादव, उमाकुमारी कुशवाहा, शम्भु प्रसाद तेली, सुरेन्द्र कुमार सिंह, दुर्गा प्रसाद कोइरी, दिनेश प्रसाद यादव, सुरज साह तेली र रामबालक महरा चमारले क्रमशः ९, ८, ७, ७, ७, ६, ६, ६ र ५ मत पाएका छन्। यसैगरी स्वतन्त्र उम्मेदवार नै रहेका छोटेलाल महतो कोइरी, सिगारी देवी, विनोद कुमार कर्ण र राधिका न्यौपाने साहले पनि क्रमशः ४, ३, ३ र २ मत ल्याए।

चितवन २ मा पनि तीनजना उम्मेदवारले १० मत कटाउन सकेनन्। स्वतन्त्र उम्मेदवारहरू रामकृष्ण ओझा, सन्तोष थापा र तारा प्रसाद पौडेलले क्रमशः ९, ३ र २ मत पाए। यस्तै तनहुँमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का गणेश श्रेष्ठले ५ मतमात्र पाए।
 

प्रकाशित: Apr 26, 2023| 16:46 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्