काठमाडौं– राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको संख्या कटौती गर्नुपर्ने आवाज सांसदले उठाएका छन्।
कुशासन र भ्रष्टाचारमा लिप्त स्थापित राजनीतिक दलहरु जनमतबाट तिरस्कृत हुन थालेपछि आजको बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औंल्याएका हुन्।
उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सासंद वा मन्त्री तीन पटक र पार्टी–दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौं। समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं।’
उनले प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट घटाएर १६५ र प्रदेशसभा संख्या ५५० बाट घटाएर ३३० मात्रै कायम गर्न सुझाव दिए।
विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसंगत नरहेको पनि उनको भनाइ छ।
उनले भने, ‘अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानमा पार्टी सदस्य भर्ना गर्ने काम बन्द गरौं।’ नागरिकका समस्या र गुनासा तत्कालै सम्बोधन गर्न सरकारले संयन्त्र बनाउनुपर्ने उनले बताए।