काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत प्रस्थान गरेपछि अनर्गल प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।
बुधबार विज्ञप्ति निकाल्दै राष्ट्रपतिको सचिवालयले गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूले राष्ट्रपति विदेश उपचारका लागि गएको भन्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यामको दुरुपयोग भएको बताएको छ।
राष्ट्रपति पौडेलको उपचार स्वेदशमै गर्न सकिने भए पनि भारत लगिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो।
राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिको उपचारका विषयमा भएको अफवाहपूर्ण प्रचाजस्तो अवस्था नभएको बताए। चिकित्सकको सुझावका आधारमा उनलाई उपचारका लागि दिल्ली लगिएको र बाहिर आएका अनर्गल प्रचारको पछि नलाग्न उनको आग्रह छ।
सल्लाहकार पोखरेलले राष्ट्रपतिको उपचार र परिवारको सदस्यहरूले भत्ता लिएको जस्ता अर्नगल विषयमा प्रचार गरिएको भन्दै दु:ख व्यक्त गरे। राष्ट्रपति तथा उपराष्ट्रपति पारिश्रमिकसम्बन्धी ऐनमै पनि उपचारका लागि जाँदा भत्ताको व्यवस्था नभएको र परिवारको कुनै पनि दबाब नरहेको उनले बताएका छन्।
छातीमा इन्फेक्सन देखिएपछि राष्ट्रपति पौडेल अहिले भारतमा उपचार गराइरहेका छन्। दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा पौडेलको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको सचिवालयले जनाएको छ।