बिहीबार, वैशाख ३१, २०८३

तीनवटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक, रास्वपालाई नाफा

प्रतिनिधिसभा सदस्यका लागि गत आइतबार तीन जिल्लामा भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- प्रतिनिधिसभा सदस्यका लागि गत आइतबार तीन जिल्लामा भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। गएराति बारा–२ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएसँगै तीनै स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो। 

National life

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। उनले २८ हजार ४१५ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे।  

तेस्रो भएका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गत ४ मंसिर को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष यादव उपचुनावबाट संसदमा प्रवेश गरेका छन्। बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा उपनिर्वाचन भएको हो। 

त्यस्तै, उपनिर्वाचन भएका अन्य दुई क्षेत्रबाट भने रास्वपाका उम्मेदवार निर्वाचित भए। चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट रास्वपाकै डा. स्वर्णिम वाग्ले निर्वाचित भएका हुन्। लामिछाने–वाग्लेले कांग्रेस उम्मेदवारलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भए। 

तनहुँ–१ बाट निर्वाचित वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराई २ हजार १२२ मतमा सीमित भए। यस्तै, तेस्रो भएका नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४८८ मत मात्र प्राप्त गरे। 

४ मंसिरको निर्वाचनमा विजयी भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो। 

यस्तै, चितवन–२ बाट विजयी भएका रास्वपा सभापति लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरे। उनले अघिल्लो निर्वाचनभन्दा बढी मत प्राप्त गरेका हुन्। मंसिरको चुनावमा उनी ४९ हजार २ सय ६४ मतका साथ निर्वाचित भएका थिए।

यसपटक लामिछानेले अघिल्लो चुनावभन्दा ४ हजार ९ सय १२ मत बढाए। यस्तै, चितवन–२ को उपनिर्वाचनमा दोस्रो भएका कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याए। तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्र प्राप्त गरे। 

उपनिर्वाचनले रास्वपालाई नाफा भएको छ। यसले पुराना दलहरूप्रति जनताको विश्वास गुम्दै गएको र नयाँ दलका रूपमा उदायको रास्वपाले ठूलो मौका पाएको रुपमा व्याख्या गर्न थालिएको छ।

प्रकाशित: Apr 26, 2023| 07:31 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्