बिहीबार, वैशाख ३१, २०८३

उपनिर्वाचनमा एमालेलाई 'हात लाग्यो शून्य'

मिसन ग्रासरुट अभियान चलाएर मैदान ओर्लिएको एमालेका उम्मेदवार तीनै क्षेत्रमा दोस्रो पनि हुन सकेनन्।
 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- अस्ति आइतबार प्रतिनिधिसभाका तीन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुईवटा क्षेत्रको अन्तिम  मतपरिणाम आइसकेको छ भने एउटाको गणना जारी छ। दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भारी मतान्तरले निर्वाचित  भएका छन्। तनहुँ-१ मा स्वर्णिम वाग्ले र चितवन-२  मा रवि लामिछाने निर्वाचित भएका हुन्।

National life

उपनिर्वाचनमा सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवार उठाएका थिए भने रास्वपा, एमालेलगायत एक्लाएक्लै लडेका थिए। सत्ता गठबन्धनमा भागवण्डा गर्दा दुई क्षेत्र कांग्रेसले पायो भने एउटा जसपाले। कांग्रेसलाई गुन तिर्न माओवादीले एउटा क्षेत्र पनि दाबी गरेन।

तनहुँ र चितवनमा कांग्रेसको पूरै शक्ति र गठबन्धनसमेत लाग्दा पनि रास्वपाका उम्मेदवार भारी मतले विजयी भए। विजयी उम्मेदवारभन्दा गठबन्धनका उम्मेदवार निकै पछाडि परे। 

गठबन्धनकै साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव भने बारा-२ मा अग्रता लिइरहेका छन्। उनको जित्ने सम्भावना अधिक छ। गत निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादव जसरी पनि संसद् छिर्न चाहन्थे। यसको सेटिङ उनले मिलाइसकेका थिए। यसका लागि उनले गठबन्धनमा उपराष्ट्रपति माग गरे र आफ्नो पार्टीबाट प्रत्यक्ष जितेका एकमात्र सांसद रामसहायप्रसाद यादवलाई यो पद अफर गरे।
रामसहाय नीति निर्माण गर्ने थलो संसद् छोडेर सेरेमोनियल पद लिन तयार भए। यसरी उपेन्द्रले बारा-२ खाली गराए र आफैं उम्मेदवार बने।   

उपनिर्वाचनमा गठबन्धनका एक उम्मेदवारले जित्ने देखिए पनि कांग्रेस भने खाली हात भयो। प्रतिनिधिसभामा उसले एक सिट गुमाएको छ।

उपनिर्वाचनमा एक्लै होमिएको एमालेको हात पनि खाली भएको छ। मिसन ग्रासरुट अभियान चलाएर साथ मैदान ओर्लिएको एमालेका उम्मेदवार तीनै क्षेत्रमा दोस्रो पनि हुन सकेनन्। चितवन-१ मा तेस्रो भएका रामप्रसाद न्यौपानेले १०  हजार ९३६ मतमात्र हात पारे। युवा नेता न्यौपाने एमाले चितवनका अध्यक्ष पनि हुन्।

उता गत मंसिरको निर्वाचनमा काठमाडौं-६ मा हार बेहोरेका पूर्वआईजीपी सर्वेन्द्र खनाल पनि तनहुँ-१ मा तेस्रो भए। उनले ८ हजार  ४८८ मतमात्र हात पारे। उनको गृहजिल्ला तनहुँ नै हो।

मतगणना चलिरहेको बारा-२ मा पनि एमाले उम्मेदवार तेस्रो नै छन्। उपेन्द्र यादवले लिड गरिरहेको सो क्षेत्रमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलको जित्ने कुनै सम्भावना छैन। अन्तिम मतपरिणाम  आउँदा पनि उनी तेस्रो नै हुने सम्भावना छ। 

प्रकाशित: Apr 25, 2023| 16:26 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्