कास्की- गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दाबी पेस गर्न मंगलबार आह्वान गरेका हुन्।
सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले तीन दिनको समय दिएको छ। एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो।
सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदको गठबन्धन छ। गण्डकीमा सरकारको नेतृत्व कांग्रेसले लिने कि माओवादीले लिने भन्ने विषयमा टुंगो नलाग्दा सरकार गठनका लागि ढिला भएको थियो।
केन्द्रमा दुई दलबीच आलोपालो गर्ने सहमति भए पनि पहिला नेतृत्व कुन दलले लिने भन्ने दलबीच अनौपचारिक सहमति भएपछि गण्डकीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुख गुरूङका प्रेस संयोजक माधव रेग्मीले बताए। ६० प्रदेशसभा सदस्यमा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ।