काठमाडौं- चितवन २ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन्।
कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलाई पाँच गुणा बढी मतान्तरले पराजित गर्दै लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन्। कांग्रेसका श्रेष्ठले भने ११ हजार २१४ मत प्राप्त गरे। रास्वपाका लामिछाने र कांग्रेसका श्रेष्ठबीचको मतान्तर ४२ हजार ९६२ छ।
तेस्रो भएका एमालेका न्यौपानेले १० हजार ९३६ मत पाएका छन्। १० वैशाखमा भएको उपनिर्वाचनमा चितवन २ मा ७८ हजार २ सय ७७ मत खसेको थियो।
नागरिकतासम्बन्धी मुद्दामा लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा उपनिर्वाचन भएको हो।