तनहुँ- तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन्।
आज बिहान सम्पन्न उपनिर्वाचनको मतगणनापछि मुख्य निर्वाचन कार्यालयले आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वाग्लेले जनताले दिएको मतको गुन विकास गरेर तिर्ने प्रतिवद्धता जनाए। आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा पनि उठाउने उनले दाबी गरे।
वाग्लेले नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव हुने बताए। सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाए देशको मुहार फेर्न सकिने उनको भनाइ छ। देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ भन्नेमा आफू प्रस्ट रहेको बताए।
अन्तिम मतगणनाअनुसार वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन्। वाग्लेको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरे।
निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो। तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो।