सोमबारको मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमान घिसिङले आज बुधबार पदभार ग्रहण गरे। घिसिङ दोस्रोपटक प्राधिकरणको नेतृत्व सम्हाल्न आइपुगेका हुन्।
प्राधिकरणमा घिसिङको यो दोस्रो इनिङ्स हो। यसअघि उनी ०७३ भदौमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। कानुनी प्रावधानअनुसार प्राधिकरणको कार्यकारी निर्देशकको एउटा कार्यकाल ४ वर्षको हुने गर्छ। सोहीअनुसार घिसिङ ०७७ भदौ २९ मा आफ्नो पहिलो कार्यकाल पूरा गरी बाहिरिएका थिए।
बुधबार पदभार ग्रहण गरेपछि आयोजित औपचारिक कार्यक्रममा घिसिङले आफूलाई पुनः नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिँदै छोटकरीमा आफ्ना योजनाहरु सुनाए।
उनले आफू ठूलो रिस्क लिएर पुनः प्राधिकरणमा आएको बताए। तर, त्यो रिस्क के हो भनेर चाहिँ खुलाएनन्।
कार्यक्रमपछि नेपाल समयकर्मी धिरज बस्नेतले कार्यकारी निर्देशक घिसिङसँग विशेष कुराकानी गरेका छन्।
दोस्रो कार्यकालका लागि प्राधिकरणको नेतृत्व गर्न आउनुभएको छ, तपाईंका प्राथमिकता के–के हुन्?
मेरो दोस्रो कार्यकाल निकै चुनौतीपूर्ण छ। पहिलो कार्यकालमा गरेका कामहरुलाई अझ फिनिसिङ गरेर पूरा गर्नुपर्ने छ। कतिपय कामहरु सुरु भएर पनि पूरा भएका छैनन्, तिनलाई अघि बढाउँछु।
लोडसेडिङ त अन्त्य भयो। अब देशभरिका जनताले जनताले बिजुली पाउनुपर्छ। सरकारको दाियत्व पनि हो त्यो। त्यसैअनुसार हरेक नागरिकलाई बिजुलीको पहुँच पुग्छ। यो मेरो प्राथमिकतामा पर्छ। अब छोटो समयमै नेपाललाई पूर्ण विद्युतीकरण भएको घोषणा गर्नुपर्छ। अर्थात् २४ सै घण्टा लोडसेडिङ भएको ठाउँमा पनि हामी लोडसेडिङ अन्त्य गर्न चाहन्छौं। २४ घण्टा भनेको बत्ती नै नभएको ठाउँमा पनि बत्ती लैजानु हो। अर्को कुरा उत्पादन क्षेत्रमा धेरै प्रोजेक्टहरु सम्पन्न भएका छन्। कतिपय सम्पन्न हुने चरणमा छन्।
अब हामीले ठूला प्रोजेक्टहरु गर्नुपर्छ। नेपालको पानी जनताको लगानी अवधारणामा आम नेपालीको पैसा लगानी गरेर ठूला आयोजना बनाउनुपर्छ। पहिलो कार्यकालमा धेरै प्रोजेक्ट स्टडीको फेजमा थिए। कतिपय प्रोजेक्ट अगाडि बढाएका पनि थियौं। लगानीको वातावरण बनाएर, वित्तीय व्यवस्था गरेर ती प्रोजेक्टहरु अगाडि बढाउनुपर्ने छ। करिब ५ हजार मेगावाटका प्रोजेक्ट तत्काल लगानी बढाउन सक्ने अवस्थामा हामी पुगेका छौं।
तपाईं प्राधिकरणबाट गएसँगै दुइटा कुरा एक्कासि देखियो, एउटा चुहावट बढ्यो अनि प्राधिकरणको नाफा घट्यो। यसको पछाडि के कारण होला भनेर बाहिर बसेर केलाउनुभएको छ?
उत्पादन भएको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीको सुनिश्चितता कसरी गर्ने? त्यो काम ठूलो छ। हाम्रो आन्तरिक खपतलाई पनि बढाउनुपर्ने छ। इलेक्ट्रिक भेइकलदेखि लिएर इन्डक्सन चुलोको प्रचार गर्नुपर्ने छ। ट्रान्समिसज लाइनहरु सम्पन्न गर्नुपर्ने छ, डिस्ट्रिब्यूसन लाइन बनाउनुपर्ने छ। ग्राहक सेवालाई डिजिटाइजेसन गरेर लैजान ढिला भइसकेको छ। पूरै संस्थालाई नै डिनिटाइजेसन गर्ने जिम्मेवारी छ।
संस्थालाई सिस्टममा कसरी लैजाने भन्ने कुराहरु महत्वपूर्ण छन्। मेरो कार्यकालमा भएको जुन वित्तीय उपलब्धि थियो, त्यो अहिले घटेकै छ। म हुँदा ११ अर्बभन्दा बढी थियो आम्दानी। अहिले नाफामा केही कमी आएको छ। त्यसको पूर्तिमात्रै गरेर पुग्दैन, अझ बढाउनुपर्ने छ। जनतालाई सहुलियतमा बिजुली उपलब्ध गराएर नाफा पनि त कमाउनुपर्ने छ। लगानी पनि बढाउनु छ।
चुहावट अहिले करिब २ प्रतिशत बढेको छ। त्यो चुहावट २६ प्रतिशतबाट १५ प्रतिशतमा झरेको थियो। त्यसलाई हामीले साढे १३ प्रतिशतमा झार्ने भनेर टार्गेट राखेका थियौं। अहिले १५ प्रतिशतबाट बढेर १७ प्रतिशत पुगेको छ। त्यो चुहावटलाई हामीले धेरै घटाउनुपर्छ। ४ वर्षभित्र हामी १० प्रतिशत भन्दा पनि कममा झार्छौं।
कोभिड लगायतका कारणले ध्यान पनि पुगेन होला, म्यानेजमेन्टमा समस्या भयो होला। त्यसले पनि केही चुहावट बढेको छ। त्यसलाई हामीले सुधार गर्नुपर्छ ।
तपाईंले अघिल्लो कार्यकालमा सुरु गर्नुभएको तार भूमिगत गर्ने काम सुस्त देखिन्छ। त्यसलाई कसरी अगाडि बढाउनुहुन्छ?
सबै निकायबीच समन्वय गरेर अगाडि बढ्नुपर्छ। सडक विभाग, खानेपानीदेखि लिएर एनटीसी सबैसँग समन्वय गरेर काम गर्ने हो। समन्वय गर्दा आवश्यक परे मन्त्रालयस्तरमा, त्यसले पनि भएन भने प्रधानमन्त्रीको स्तरमा लगेर पनि यो सहरलाई सुन्दर बनाउनुपर्छ। सुन्दर बनाए मात्र भएन, जनताले सेवा सहज रुपमा पाउनु पनि पर्छ। बिजुलीको माग बढ्दै जान्छ, त्यसलाई धान्ने संरचना बनाउनुपर्छ।
पदभार सम्हालेपछिको औपचारिक कार्यक्रममा तपाईंले पटक–पटक ठूलो रिस्क लिएर विद्युत् प्राधिकरणमा फेरि आएको छु भन्नुभयो। तर, त्यो रिस्क के हो भन्नेचाहिँ खुलाउनु भएन? यहाँलाई थाहै छ, एमसीसी परियोजना लामो समयदेखि अड्केर बसेको छ। रिस्क भनेर त्यसैलाई इंगित गर्न खोज्नुभएको हो? एमसीसीको बारेमा तपाईंको धारणा के हो?
एमसीसीको बारेमा म अहिले बोल्दिनँ, यसबारे कुरै नगरौं। यो मेरो पाटो होइन।
त्यसो हो भने रिस्क चाहिँ के हो त?
पब्लिकको प्रेसर छ नि त। अपेक्षा छन् मप्रति धेरै। त्यो पूरा गर्ने चुनौती छ। पहिलो कार्यकालमा मैले जुन काम गरेँ, जुन किसिमको क्रेडिबिलिटी, जुन किसिमको सम्मान पाएँ। पब्लिकबाट एक किसिमको हौसला मिल्यो, त्यो मेन्टेन गर्न र अझ त्यो भन्दा माथि लैजानलाई मलाई ठूलो चुनौती छ। सबैभन्दा ठूलो चुनौती त्यही हो। त्यो गर्न सकिनँ, अझ नराम्रो भयो भने मेरो लागि त्योभन्दा नराम्रो केही हुँदैन। त्यही भएर ‘हाइ रिस्क’ छ भन्न खोजेको हो। व्यक्तिगत रुपमा मेरो चुनौती त्यही हो।
चुनौतीको सामना गर्न तत्काल केही प्लान गर्नुभएको छ?
त्यही सामना गर्छु भनेर आएको हुँ। त्यो सामना गर्न सक्दिनँ भन्ने भएको भए म आउने नै थिइनँ।
प्राधिकरण राम्रोमैले मात्रै क्रेडिट लिने होइन, राम्रो भयाृे भने सबैको शिर उचो हुन्छ। सरकारले दिएको जिम्मेवारी र जनअपेक्षाका कारण मैले जिम्मेवारी स्वकिारेको हुँ।
म यहाँ आउनुमा पनि एउटा संयोग छ। पहिलो कार्यकालमा जनार्दन शर्मा उर्जामन्त्री हुनुहुन्थ्यो, अहिले उहाँ अर्थमन्त्री हुनुहुन्छ। प्रचण्ड त्यतिबेला पनि सत्ता साझेदार दलको नेता हुनुहुन्थ्यो, अहिले पनि त्यही भूमिकामा हुनुहुन्छ। पहिले पनि ऊर्जामन्त्री माओवादीबाट हुनुहुन्थ्यो, अहिले पनि त्यही पार्टीबाट हुनुहुन्छ। उहाँहरुलाई मेरो पहिलेको काम मन परेरै फेरि जिम्मेवारी दिनुभएको हो। सबै राजनीतिक दल र नेताहरुको शुभेच्छा मसँग छ। पब्लिकको त छँदैछ।
सरकारको कार्ययोजना नै कार्यान्वयन गर्ने हो मैले। मन्त्रीज्यूले पनि आफ्नो कार्यकालका लागि कार्ययोजना ल्याउनु भएको छ, त्यसैलाई अगाढि बढाउने हो। सचिव पनि डाइनामिक हुनुहुन्छ।
धेरै लामो भिजन छैन मेरो। यो गर्ने त्यो गर्ने भनेर धेरै बोल्दिनँ पनि अहिले। एक महिना त मिडियामै नआउने सोच थियो। कुरा गरेर हैन, कामै गरेर देखाउने हो।
प्राधिकरणको सेवा अझ राम्रो बनाउने, अझ विश्वसनीय बनाउने, बिजुलीको कुनै अवरोध नहोस्, बिलिङ पनि सजिलो होस्। यस्ता कुरामा ध्यान दिन्छु। प्राधिकरणभित्रको सुशासनमा ध्यान दिन्छु। अनियमितता हुन दिन्नँ। फेरि पनि भन्छु– ठूलो रिस्क लिएर आएको छु, कुनै पनि कुरामा कम्प्रमाइज हुँदैन। कर्मचारीले पनि कम्प्रमाइज गर्न पाउँदैनन्। समस्याहरु छन् भने समाधान गरौं, तर काममा सम्झौता हुँदैन।