काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई ७ रनले पराजित गर्यो।
दिल्लीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो। हैदराबादका मयङ्क अग्रवालले सर्वाधिक ४९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। त्यस्तै उसका हेनरिक केल्सनले ३१ रन जोडे।
दिल्लीका एनरिच नोर्किया र अक्षर पटेलले समान २/२ तथा इशान्त शर्मा र कुलदीप यादवले समान १/१ विकेट लिए। त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो।
दिल्लीका मनिष पान्डे र अक्षर पटेलले समान ३४ रन बनाए । हैदराबादका वासिङ्टन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए र टी नटराजनले १ विकेट लिए। दिल्ली सातौँ खेलमा दोस्रो जितसहित अङ्कतालिकाको पुछारमा नै छ। समान खेलमा चार अङ्क नै रहेको हैदराबाद नवौं स्थानमा छ।