काठमाडौं- गएको चैत १६ गते नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्दा अर्थविद् डा. स्वर्णिम वाग्लेले भनेका थिए- समयसीमा नै तोकेर अब डेलिभरीको राजनीतिमा हामीले नेपालको राजनीतिलाई कोल्टे फेराउनुपर्छ।
त्यसको १ महिना पनि नबित्दै १० वैशाखमा भएको उपनिर्वाचनबाट उनी संघीय संसद् प्रतिनिधिसभामा प्रवेश गर्दैछन्। ५ महिनाअघि भएको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएका वाग्ले ५ वर्ष पर्खिन नसक्ने मनस्थितिमा पुगे र नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे। लगत्तै रवि लामिछाने नेतृत्वको उक्त पार्टीले वाग्लेलाई उपनिर्वाचनको उम्मेदवारका रुपमा अघि सार्यो। उनी त्यही क्षेत्रबाट मैदान उत्रिए, जहाँ गत मंसिरको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलले जितेका थिए।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष वाग्लेले कांग्रेस परित्याग गर्दा यो निकै ठूलो चर्चाको विषय बन्यो। उनी कांग्रेसी अर्थविद् हुन् भन्ने हेक्का समेत थिएन धेरैलाई तर पार्टीबाट अलग भएको घोषणाले सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म ताते।
कांग्रेस महामन्त्री गगन थापालगायत थुप्रै कांग्रेस नेताहरुले वाग्लेविरुद्ध विष वमन गरे। मुलुक उपनिर्वाचनमा होमिइसकेको थियो। तनहुँ-१, चितवन-२ र बारा-२ मा एकैदिन निर्वाचन गर्ने निर्णय आयोगले गर्यो। सत्ता गठबन्धन दलहरुले तीन क्षेत्र भाग लगाउँदा दुई क्षेत्र कांग्रेसले पायो। कांग्रेसलाई गुन तिर्न माओवादीले कुनै क्षेत्रमा उम्मेदवार उठाएन।
एउटा क्षेत्र जसपा अध्यक्ष उपेन्द्र यादवले मागे। गत निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादव जसरी पनि संसद् छिर्न चाहन्थे। यसको सेटिङ उनले मिलाइसकेका थिए। यसका लागि उनले गठबन्धनमा उपराष्ट्रपति माग गरे र आफ्नो पार्टीबाट प्रत्यक्ष जितेका एकमात्र सांसद रामसहायप्रसाद यादवलाई यो पद अफर गरे।
रामसहाय नीति निर्माण गर्ने थलो संसद् छोडेर सेरेमोनियल पद लिन तयार भए। यसरी उपेन्द्रले बारा-२ खाली गराए र आफैं उम्मेदवार बने। यादवलाई सत्ता गठबन्धनका सबै दलको साथ छ। संसद् भवन छिर्न यादवलाई त्यति सजिलो भने देखिएन। चुनावी दौडमा पूरा बल लगाएका यादव यो सामग्री प्रकाशित भएको समयमा करिब २५ सय मतले अग्रता लिइरहेका छन्। जनमतका शिवचन्द्र कुशवाहाले उनलाई टक्कर दिइरहेका छन्। जनमत अध्यक्ष राउत यादवलाई हराउन मिसन बारा अभियानसहित बारा झरेका थिए।
महामन्त्री थापा त तनहुँ-१ का लागि केन्द्रबाट चुनावी कमाण्डर नै बनेर खटाइएका थिए। त्यतिमात्रै होइन, गठबन्धन दलका सबै शीर्ष नेताहरुले पनि निर्वाचन क्षेत्रमै पुगेर भोट मागे। एउटा चुनावी सभामा त बहालवाला प्रधानमन्त्री र तीन पूर्वप्रधानमन्त्री एकै मञ्चमा उत्रिए। प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले भट्टराईलाई जिताएर पठाएमा मन्त्री बनाइदिने आश्वासन दिए। तर, मतपेटिकाका बाकस खोल्दै गर्दा वाग्ले भारी पर्दै गए।
लागौं, वाग्लेतिरै। उनलाई हराउन (कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन) पूरै कांग्रेस पार्टी खनियो। पौडेल राष्ट्रपति भएपछि सो क्षेत्रमा आफ्नै उम्मेदवार जिताउनुपर्ने दबाब कांग्रेस नेतृत्वलाई थियो। पार्टी सभापतिदेखि लिएर उपसभापति अनि दुवै महामन्त्री तनहुँ पुगे।
महामन्त्री थापा त तनहुँ-१ का लागि केन्द्रबाट चुनावी कमाण्डर नै बनेर खटाइएका थिए। त्यतिमात्रै होइन, गठबन्धन दलका सबै शीर्ष नेताहरुले पनि निर्वाचन क्षेत्रमै पुगेर भोट मागे। एउटा चुनावी सभामा त बहालवाला प्रधानमन्त्री र तीन पूर्वप्रधानमन्त्री एकै मञ्चमा उत्रिए। प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले भट्टराईलाई जिताएर पठाएमा मन्त्री बनाइदिने आश्वासन दिए। तर, मतपेटिकाका बाकस खोल्दै गर्दा वाग्ले भारी पर्दै गए।
अब आम चासो छ- डेलिभरी दिने हुटहुटीले रास्वपामा होमिएका स्वर्णिमले कस्तो डेलिभरी देलान्, डेलिभरी दिने ठाउँ पाउलान् कि नपाउलान्, संसद्मा उनको भूमिका कस्तो होला, पार्टीमा कति स्थान पाउलान्। पार्टी सभापति रविसँग उनको ट्युनिङ कत्तिको मिल्छ भन्ने चासो पनि धेरैलाई छ।
केही साताअघि वाग्लेले रविलाई नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँग तुलना गरेका गरेपछि उनको आलोचनासमेत भएको थियो। वाग्लेले २०१५ सालमा बिपी कोइरालामा जस्तो हुटहुटी थियो, अहिले रास्वपा सभापति लामिछानेसँग पनि त्यस्तै हुटहुटी रहेको बताएका थिए। ‘०१५ सालको भिजन भएको, ऊर्जा भएको, आदर्श भएको यो देशलाई एउटा निश्चित समयसीमाभित्र यहाँ पुर्याउँछु भन्ने बिपीको हुटहुटीलाई तुलना गर्न मिल्छ। त्यो भिजन, त्यो महत्वाकांक्षा देशलाई यहाँ पुर्याउनपर्छ भन्ने मिसनमा तुलना गर्न मिल्छ,’ उनले भनेका थिए।
कतिपयले स्वर्णिमको जितले कांग्रेसभित्र अनि राष्ट्रिय राजनीतिमै ठूलो तरंग ल्याउने विश्लेषणसमेत गरिरहेका छन्। मतान्तर बढ्दै गएपछि सोमबार दिउँसोदेखि नै स्वर्णिमलाई बधाई आउन थालिसकेको थियो। उनी भने अन्तिम परिणाम कुर्न भनिरहेका थिए। आफूले पाएको मत पुराना दल र नेतृत्वप्रतिको वितृष्णा भएको उनको विश्लेषण छ। युवाले आफूमा देखेको आशा उनले अनुभूत गरेका छन्।
को हुन् वाग्ले?
एक पडकास्टमा बताएअनुसार स्वर्णिम वाग्ले पछिल्लो समय काठमाडौंस्थित एउटा थिंक ट्यांक इन्स्टिच्युट फर इन्टिग्रेटेड डिभलपमेन्ट स्टडिज (आईआईडीएस) का अध्यक्ष हुन्। सन् २०१४ देखि सन् २०१८ सम्म सुरुमा राष्ट्रिय योजना आयोगको सदस्य र पछि उपाध्यक्षको जिम्मेवारी उनले सम्हालेका थिए।
योजना आयोगको जिम्मेवारी सम्पन्न गरेपछि केही समय उनी ३६ वटा देश हेर्ने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोको मुख्य आर्थिक सल्लाहकारको रूपमा जागिर खान न्यूयोर्क गएका थिए। उनीसँग विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ।
गोर्खामा जन्मिएर काठमाडौंको बूढानीलकण्ठ स्कुल अध्ययन गरेका उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक र हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर अध्ययन गरेका छन्। यसैगरी उनले अस्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।
राजनीतिमा भने उनी प्रत्यक्ष रुपमा संलग्न थिएनन् तर नेपथ्यमा बसेर कांग्रेसका लागि धेरै काम गरेका छन्। '२०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,' पार्टी छाड्दा उनले भनेका थिए।
गएको आम चुनाव लड्ने इच्छा वाग्लेले व्यक्त गरेका थिए, तर त्यसबेला उनलाई नेपाली कांग्रेसले टिकट दिएको थिएन। बरू वाग्लेभन्दा पछि योजना आयोगका उपाध्यक्ष बनेका विश्व पौडेल राजीनामा दिएर चुनाव लड्न चितवन गएका थिए। त्यहाँ उनी रास्वपाका उम्मेदवारसँग पराजित भए।