बारा- बारा-२ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचन क्षेत्रका ८३ वटै मतदान स्थलमा रहेका १३७ मतदान केन्द्रको मतपेटिका संकलन भएपछि बसेको सर्वदलीय बैठकको निर्णयपछि साढे ११ बजेबाट मतगणना सुरु भएको हो।
बारामा करैया गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
मतगणनास्थलहरूमा तारबार लगाएर सिसी क्यामेरा जडान गरिएको छ। बारा–२ मा आइतबार भएको उपनिर्वाचनमा ६८ हजार ८८६ मत खसेको थियो। निर्वाचन कार्यालय बाराका अनुसार उक्त क्षेत्रमा १ लाख ५ हजार २४८ जना मतदाता रहेका छन्।
बारा–२ मा गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका तर्फबाट पुरुषोत्तम पौडेल, जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।
गत ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । यादव उपराष्ट्रपति बनेपछि रिक्त बारा–२ मा उपनिर्वाचन भएको हो।