काठमाडौं- १७औं लोकतन्त्र दिवस आज (सोमबार) मनाइँदै छ। तत्कालीन राजा ज्ञानेन्द्र शाह जनतासामु झुकेको दिनको सम्झनामा २०६४ सालदेखि हरेक साल वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ। १७औं लोकतन्त्र दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
०६२/६३ को आन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको हो। ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए।
नारायणहिटी दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै-हटाउँदै गरे। उनले आफूले इच्छा गरेअनुसार शासन चलाउन थालेपछि जनआन्दोलनको उभारले नारायणहिटीबाट नागार्जुन पठाएको थियो।
२०६१ माघ १९ मा ज्ञानेन्द्रले शासन सत्ताको बागडोर सम्हालेपछि आन्दोलनरत सात दल र नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो। २०६२ फागुनदेखि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको आन्दोलनले चैतमा गति लिएको थियो।
आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुन:स्थापनाको घोषणा गरी बैठक आह्वान गरेका थिए। सोही दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउन थालिएको हो।