काठमाडौं- प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको पाँच महिनामा तीनवटा क्षेत्रमा उपनिर्वाचन सम्पन्न भएको छ। आज आइतबार चितवन-२, तनहुँ-१ र बारा-२ मा उपनिर्वाचन भएको हो।
नागरिकता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवनमा उपनिर्वाचन भएको हो। तनहुँ-१ बाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति र बारा- २ बाट जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती क्षेत्रमा उपनिर्वाचन गर्नुपरेको हो।
चितवन-२ बाट अघिल्लोपटक झण्डै ३५ हजार मतान्तरले जितेका रवि नै फेरि पनि रास्वपाबाट चुनाव लडेका छन्। त्यहाँ एमालेले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।
तनहुँ- १ मा भने गठबन्धनले कांग्रेसका गोविन्द भट्टराई, रास्वपाले स्वर्णिम वाग्ले र एमालेले सर्वेन्द्र खनाललाई प्रतिस्पर्धामा उतारेका छन्।
उता बारा-२ मा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिएका छन्। उनलाई टक्कर दिन जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ भने रास्वपाबाट पूर्व डीआईजी रमेश खरेल र एमालेबाट पुरुषोत्तम पौडेल चुनावी प्रतिस्पर्धामा छन्।
छिटपुट घटनाबाहेक उपनिर्वाचन सौहार्दपूर्ण र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मतदान भने अपेक्षाकृत रुपमा कम भएको छ। तीनवटै क्षेत्रमा गत मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएको छ। निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ।
त्यहाँ गत मंसिरको चुनावमा ७२ प्रतिशत मतदान भएकोमा यसपालि ६२ प्रतिशतमात्र खसेको छ।
यसैगरी तनहुँमा ५२ प्रतिशत र बारामा ६१ प्रतिशत मत खसेको छ। मंसिरमा तनहुँ-१ मा ५३ प्रतिशत र बारा-२ मा ६४ प्रतिशत मत खसेको थियो।
कहाँ के भयो ?
तीनै क्षेत्रको उपनिर्वाचन केही ठाउँमा सामान्य घटनाबाहेक सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ। चितवन र बारामा केही घटना भए पनि तनहुँको निर्वाचन शान्तिपूर्ण रह्यो।
चितवनका दुई केन्द्रमा भने मतदान रोकिन पुगेको थियो। रास्वपाका सभापति एवं उम्मेदवार रवि लामिछाने भीडभाड गर्दै मतदान केन्द्रमा पुगेपछि तनावको स्थिति सिर्जना भएको थियो। भरतपुर– २ कृष्णपुर मावि र वडा नम्बर ११ नयाँकिरण कमलकुशुम मावि केन्द्रमा रवि पुगेपछि कांग्रेस र एमालेले विरोध गरेका थिए।
रास्वपाबाट आचार संहिताविपरीतको काम भएको निष्कर्षसहित उक्त दलले क्षमायाचना गर्ने सहमति भएपछि दुई घण्टापछि मतदान सुचारु भएको थियो। ‘चुनाव चलिरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम सञ्चालन भएको पाइयो। उक्त दलबाट क्षमायाचान गर्ने निर्णय गरियो,’ रास्वपासहितको बैठकमा भएको सहमतिको पहिलो बुँदामा भनिएको छ।
उता मतदातालाई पैसा बाँड्न खोजेको आरोपमा बारा– २ को देवताल गाउँपालिका– २ कल्याणपुर मतदानस्थलनबाट प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। बाराको इनर्वा– २ मा जनमत र जसपाबीच लफडा हुँदा केहीबेर मतदान प्रक्रिया रोकिएको थियो।
भारतीय सीमा क्षेत्रका केही मतदान केन्द्रमा जसपाले बुथ कब्जा गरेको आरोप जनमतका अध्यक्ष सीके राउतले लगाएका थिए। यसले केहीबेर मतदान प्रक्रिया अवरुद्ध भए पनि पछि सुचारु भएको थियो।
आज नै निर्वाचन आयोगले तनहुँ- १ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। मौन अवधिमा भ्वाइस म्यासेजमार्फत मत मागेको भन्दै उनलाई आयोगले स्पष्टीकरण सोधेको हो।
यसैगरी मधेश प्रदेशका मुख्यमन्त्री रामसरोज यादवलाई पनि निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। अनुमतिविना स्रोत साधनको दुरुपयोग गरी पचरौता नगरपालिकामा गएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
जसपाबाट मुख्यमन्त्री बनेका यादव उपेन्द्र यादवको पक्षमा माहोल बनाउन पुगेका थिए।