काठमाडौं- प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत आइतबार तीन क्षेत्रमा भएको मतदानको निर्धारित समय सकिएको छ।
निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको सयम निर्धारण गरेको थियो।
यकिन तथ्यांक प्राप्त भइनसके पनि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा।
मतदानको समय सकिए पनि केही केन्द्रहरूमा मतदाता लाइनमा नै छन्। ५ बजेअघि नै मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताहरूले मतदान गर्न पाउने आयोगले जनाएको छ।
आज चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको हो। चितवनका दुई मतदान केन्द्रमा विवाद भएपछि मतदान करिब अढाइ घण्टा रोकिएको थियो। यसैगरी बारामा केही व्यक्तिहरु पक्राउ परे।
निर्वाचन सकिएसँगै आजैबाट मतगणना सुरु हुने आयोगले जनाएको छ।
गत मंसिर ४ गते भएको निर्वाचनमा चितवनमा रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेको नागरिकता विवादका क्रममा रिक्त भएको थियो। त्यस्तै तनहुँ र बाराबाट निर्वाचित सांसदहरु क्रमश: राष्ट्रपति र उपराष्ट्रपति भएपछि रिक्त हुँदा उपनिर्वाचन भएको हो।