सुर्खेत- कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा तेस्रोपटक विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शर्माले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रायोजनका लागि पत्र दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।
सचिव बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन पत्र दर्ता गराएका हुन्। शर्माले यसअघि दुईपटक विश्वासको मत लिइसकेका छन्।
६ माघमा एमालेको समर्थनमा पहिलोपटक विश्वासको मत लिएका शर्माले १७ चैतमा राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रोपटक संसदसमक्ष विश्वासको मत लिएका थिए।
मुख्यमन्त्री शर्माले दोस्रोपटक एमाले, कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत पाएका थिए। तर, २७ चैतमा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्।