काठमाडौं- उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमा बिहान १० बजेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
बिहान १० बजेसम्म तीनै निर्वाचन क्षेत्रमा १० प्रतिशत भन्दा बढी मतदान भएको आयोगको भनाइ छ। हालसम्म बारामा भने सामान्य विवाद भएको छ।
बारा-२ को देवताल गाउँपालिका-७ पिपरपाती जब्दी मतदान केन्द्रबाट दुई मतपत्र फेला परेपछि रामसागर यादव पक्राउ परेका छन्।
आफ्नो मत र अर्को नक्कली मत खसाउने क्रममा यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादव जसपाका कार्यकर्ता रहेको बताइएको छ। त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्।
नामावली रुजु गरेर मतपत्र लिएका रामसागरले आफ्नो खल्तीबाट पनि नक्कली मतपत्र झिकेर मतदान गर्न खोज्दा प्रहरीले पक्राउ गरेको हो। उनले आफ्नो नामको मत खसाले पनि नक्कली मत भने खसाल्न पाएनन्।
उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमध्ये १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ। चितवन २ मा १७ प्रतिशत मतदान सम्पन्न भएको छ भने मतदाता उत्साही हुँदै मतदानका लागि लाइन लागेका छन्।
चितवन–२ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीवाट रवि लामिछाने र नेकपा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन्।
चिवतनपछि बारा–२ मा धेरै प्रतिशत मत खसेको छ। बारा २ मा १० बजेसम्म १५ प्रतिशत मतदान भएको छ। त्यस्तै तनहुँमा १३.६ प्रतिशत मतदान सम्पन्न भएको छ।
बारामा सत्ता गठबन्धनका तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्रप्रसाद कुशवाह, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार छन्। निर्वाचन शान्तिपूर्ण तरिकाले चलिरहेको मुख्य निर्वाचन कार्यालयहरुले जनाएका छन्।