काठमाडौं- प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ। चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपनिर्वाचन हुन लागेको हो।
गत संसदीय निर्वाचनमा चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतले फैसला गरेपछि उनको पद गएको थियो।
यस्तै, तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र र बाराबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगले तीनै क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ।