काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत फैलाइने आवेग र क्षणिक उत्तेजनाले समाजलाई विकृत बनाउने खतरा रहेको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीयसभामा उहाँले विज्ञान र प्रविधिले विकास गरेका कुरालाई बौद्धिक वर्गले सदुपयोग गर्नेभन्दा क्षणिक आवेगमा प्रयोग हुने गरेको बताए।
‘देशको समग्र राजनीति, आर्थिक विकासको प्रक्रिया विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ। मानिसमा विचार, सिद्धान्त, एजेन्डाभन्दा सेन्टिमेन्ट, क्षणिक आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो छ। यस्तो बेलामा बौद्धिक पक्षबाट हस्तक्षेप जरुरी छ’, प्रधानमन्त्री दाहालले भने, ‘अहिले वैचारिक बहसभन्दा सामाजिक सञ्जालतिर मानिसको ध्यान छ। त्यसले गर्दा मूलधारका मिडिया नै विस्थापित हुनेजस्तो देखिँदैछ। जसले हिजो लोकतन्त्रका निम्ति, राष्ट्रिय स्वाधिनताका निम्ति लामो भूमिका खेले तिनलाई नै पछि पार्ने गरी विस्थापित गर्ने गरी अराजकता पैदा गर्दैछ। यसमा वौद्धिक वर्गले ध्यान दिनु जरुरी छ।’
अप्रिल २२ कम्युनिष्ट आन्दोलनको परिचर्चा गर्ने दिन भएको बताउँदै प्रधानमन्त्री दाहालले विगतका कमी–कमजोरीको समीक्षा गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई सही नीति, विधिअनुरुप छिट्टै ध्रुवीकरण गर्ने दिशामा लाग्नुपर्ने बताए। उनले कम्युनिष्ट आन्दोलन अझै पनि जनतामा लोकप्रिय भएको बताउँदै सिद्धान्तनिष्ठ एकता आवश्यक भएको उल्लेख गरे।