शनिबार, भदौ ६, २०८३

पुल निमार्णमा ढिलाइ हुँदा स्थानीय र पर्यटकलाई सास्ती

 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

भैरहवा- भैरहवा-लुम्बिनी सडक खण्डअन्तर्गत गनगाईस्थित बेथरी पुल निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नहुँदा स्थानीयले समस्या भएको छ।

सरकारले २०७१ साल असारमा पप्पु बाग्मती जेभी कन्स्ट्रक्सनसँग २०७३ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। ठेकेदार कम्पनीले ढिलाइ गर्दा बुद्धको जन्मस्थल लुम्बिनी प्रवेश गर्ने पर्यटक तथा स्थानीयले दैनिक रूपमा समस्या व्यहोर्नु परेको छ।

लुम्बिनी जाने पर्यटकले पुल साँघुरो भएर वर्षेदेखि एकतर्फी रहेपछि आफूहरूलाई सास्ती भएको गुनासो गरेका छन। पटक पटक ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि बेवास्ता गरेकाले गत वर्ष उक्त ठेक्का तोडेर नयाँ ठेकेदार कम्पनी रमण रियल होम इन्फोटेक जेभी ललितपुरलाई जिम्मा दिइएको हो।

पुरानो ठेकेदारले गर्न नसकेको बाँकी काम गर्न करिब १० करोडमा पुल निर्माणका लागि नयाँ ठेकेदारसँग सम्झौता गरेपनि अझैसम्म काम सुस्त गतिमा छ। नयाँ ठेकेदारले पनि निर्माण सम्पन्न गर्न तदारुकता नदेखाउँदा लुम्बिनी सडक चार लेनको भएपनि उक्त पुल साँघुरो भएका कारण सवारी साधनको जाम लाग्ने गरेको छ।

पुल निर्माण नहुँदा प्रहरीलाई गाडी पास गराउन सास्ती हुने गरेको छ। भैरहवाबाट लुम्बिनी जाने सडक विस्तारसँगै पुल पनि निर्माण गर्नुपर्ने हो तर पुलको निर्माणको काम अघि बढ्न नसक्दा सडक विस्तारको प्रतिफलसमेत अनुभूति नभएको लुम्बिनीका होटेल व्यवसायी खेम श्रेष्ठले बताए।

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा.हरिध्वज राईले लुम्बिनी आउने पर्यटक यही पुल हुँदै ९० प्रतिशत आउने भएपनि एकतर्फी पुलका कारण जाम हुने तथा दिक्क लाग्ने गरेको गुनासो गर्ने गरेको जानकारी दिए।

हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले तिनाउ खोला र डन्डा नदीमा पुल निर्माणको काम गर्ने ठेक्का रमण रियल होम इन्फोटेक जेभीले पाएपछि छिटो सम्पन्न गर्न निर्देशन दिएको बताए।

प्रमुख पाण्डेले भने, ‘यो पुल राष्ट्रिय महत्वको पनि भएकाले छिटो सम्पन्न गर्न कम्पनीलाई निर्देशन दिएका छौँ।’ पाण्डेले छिटो सम्पन्न गरेर लुम्बिनी जाने आउने यात्रुलाई सहज हुने वातावरण तयार हुने जानकारी दिए।

यस वर्षभित्र तिनाउ पुल निर्माण सम्पन्न गर्ने, त्यसपछि अर्को पुलको काम गर्ने प्रतिबद्धता ठेकेदारले जनाएको सडक कार्यालयले जनाएको छ। अहिले तिनाउ पुलको जग बसाल्ने र केही रड खसाल्ने काम भएको छ।

प्रकाशित: Apr 22, 2023| 21:33 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्