काठमाडौं- आइतबार तनहुँ-१ मा उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा सवारीसाधन आवागमन रोकिने भएको छ। यातायात रोकिने हुँदा पृथ्वी राजमार्गमा समेत गाडी नचल्ने भएका छन्।
बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी चल्न नदिइने प्रशासनले जनाएको छ। पृथ्वी राजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा साँझ ५ बजेपछि यात्रा गर्नु पर्नेछ।
२०७९ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्लेलगायत ९ जना उम्मेदवार छन्।