काठमाडौं- चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)लाई काठमाडौं ल्याएर मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ।
थापाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले बताएको छ। यद्यपि, उनको अवस्थाबारे आधिकारिक रुपमा कसैले जानकारी दिएको छैन। यसबारे न थापाको परिवारका सदस्य बोलेका छन् न रास्वपा वा सभापति लामिछानेले केही भनेका छन्। अस्पतालले पनि औपचारिक रुपमा केही बताएको छैन।
थापा गत सोमबार (वैशाख ४ गते) बिहान चितवनस्थित रवि लामिछानेको घरको छतबाट खसेको अवस्थामा फेला परेका थिए। राति सुत्नका लागि छतमा गएका उनी बिहान घाइते अवस्थामा फेला परेपछि उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज पुर्याइएको थियो। चितवनबाट उनलाई वैशाख ५ गते नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको छ।