बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उपचुनावको तयारी पूरा, मतदान केन्द्रमा खटिए कर्मचारी र सुरक्षाकर्मी

उपचुनावको तयारी पूरा, मतदान केन्द्रमा खटिए कर्मचारी र सुरक्षाकर्मी

तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान अधिकृत र कर्मचारीसँगै सुरक्षाकर्मी खटिसकेका छन्।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

काठमाडौं- चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा भोलि हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपचुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान अधिकृत र कर्मचारीसँगै सुरक्षाकर्मी खटिसकेका छन्।

National life

आवश्यक चुनावी सामग्री पनि पुर्याइसकिएको आयोगले जनाएको छ। उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।

उपचुनाव हुने जिल्लाका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्बाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ।

त्यस्तै, सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि आफ्नो सेवा चुस्त बनाउन र चुनावका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ।

उपचुनावमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई कसैले कुनै किसिमको डर, धम्की, प्रलोभन दिएमा वा उनीहरूको काममा बाधा पुर्‍याएमा त्यस्ता कार्यलाई निर्वाचन कसुर मानी तत्काल कारबाही गर्न आयोगको निर्देशन छ।

चुनावमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले आफ्नो कर्तव्यभन्दा बाहिर गएर चुनावलाई प्रभावित हुने कुनै क्रियाकलाप गरेको भेटिएमा कारबाही गरिने पनि आयोगले जनाएको छ। कोभिड–१९ लगायत सङ्क्रामक रोगको जोखिमलाई ध्यान दिँदै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न, गराउन पनि आयोगले आग्रह गरेको छ। 

हावाहुरी र बर्सातका कारण मतदानको काम प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखेर चुनावी सामग्रीको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारीका लागि पनि निर्देशन दिइएको छ। निर्वाचन सामग्रीको सुरक्षाका लागि त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समिति, निर्वाचन क्षेत्रभित्रका पालिका तथा सम्बन्धित पालिकाका विपद् कार्य सञ्चालन केन्द्रलाई आयोगले निर्देशन दिएको छ।

यसैबीच उपचुनाव हुने क्षेत्रमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले बारा क्षेत्र नं २, चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

प्रकाशित: Apr 22, 2023| 08:29 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्