शनिबार, भदौ ६, २०८३

मनाङमा खानेपानीको मुहान सर्वेक्षण

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

मनाङ- हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ। नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो।

उक्त पदमार्गअन्तर्गत पाँच हजार एक सय १६ मिटर उचाइ हुँदै लार्के फेदी चार हजार चार सय मिटर भिमथाङ उचाइमा खानेपानीको मुहान सर्वेक्षण गरिएको नासों गाउँपालिकाका प्राविधिक टोलीले जनाएको छ।
यस क्षेत्रमा पर्यटक आवागमनको क्रममा खानेपानी सुविधा सहज बनाउने उद्देश्यले पानीको मुहान सर्वेक्षण गरिएको हो।

पालिकाका इन्जिनियर नवीन जोशी, प्रशासकीय अधिकृत गिमानसिंह मगर, सव–इन्जिनियर समीक्षा पौडेललगायतको टोलीले नासोँ गाउँपालिका–६ र ७ नम्बर वडाका विभिन्न स्थानमा सर्वेक्षणका लागि गएका थिए।

प्रतिकूल मौसमका बाबजुद पनि पानीको मुहान सर्वेक्षण गरिएको गाउँपालिकाका इन्जिनियर नवीन जोशीले बताए। ‘हिमपात, चिसो मौसममा पनि खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले पालिकाले यस पदमार्गअन्तर्गत पानीको मुहान खोजिएको हो’, उनले भने।

यस क्षेत्रमा खानेपानी व्यवस्थापनले स्थानीयवासी, आन्तरिक तथा बाह्य पर्यटकलगायत जनावरलाई पानीको व्यवस्थापन हुनेछ।

प्रकाशित: Apr 21, 2023| 22:04 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्