शनिबार, भदौ ६, २०८३

निःशुल्क कृत्रिम दाँत पाउँदा रामपुरका ज्येष्ठ नागरिक खुसी

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

पाल्पा- दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यतिबेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिएका छन्। दाँत नहुँदा अनुहारको चमक हराएको, गाला चाउरी परेको र खान पनि समस्या भएको भन्दै उनले कृत्रिम दाँत राखेपछि निकै सहज भएको बताए।

पाल्पाको बगनासकाली गाउँपालिका-१ बस्ने तुलसा खनाल पनि रामपुरमा निःशुल्क कृत्रिम दाँत शिविर आयोजनामा नयाँ दाँत राख्न पाएपछि खुसी भएकी छन्। शिविरमा लामो यात्रा गरी आइपुगेकी उनी नयाँ दाँत राखेपछि उमेर घटेको जस्तो भान भएको बताउँछिन्।

पाल्पाको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले ट्राभल डेन्टिष्ट्री नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क कृत्रिम दन्त शिविरबाट यहाँका ज्येष्ठ नागरिकले सुविधा पाएका छन्।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शिविरमा सहभागीलाई दाँत हस्तान्तरण गर्दै नयाँ दाँतले सुरुमा केही अप्ठ्यारो अनुभुती भएपनि नियमित प्रयोग गर्दै गएपछि सहज हुने बताए।

नयाँ दाँत राख्न महंगो पर्ने भएपछि ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क शिविर आयोजना गरिएको कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले जानकारी दिए।

एक महिनामा ६० जनाको नयाँ दाँत राखिएको ट्राभल डेन्टिष्ट्री नेपालका अध्यक्ष डाक्टर शंकर श्रेष्ठको भनाइ छ। नयाँ दाँत राख्न डराउने, छाला, हड्डीसम्बन्धी समस्या भएका बिरामीलाई उपचार गरी दाँतको महत्वबारे परामर्श लिएर कृत्रिम दाँत राख्न उप्रेरणा गरेको उनले बताए।

शिविरमा २१ जना दन्त रोग विशेषज्ञ डाक्टरसहित ३१ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए। एक जनाको पूरै दाँत राखेको न्यूनतम ३० हजारदेखि ४० हजारसम्म खर्च हुने गरेको छ।

शिविरमा रामपुर नगरपालिका, निस्दी, बगनासकाली र रम्भा गाउँपालिकाका नागरिकले सेवा लिएका छन्।

प्रकाशित: Apr 21, 2023| 19:44 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्