काठमाडौं- पछिल्लो समय विदेशी लागूऔषध कारोबारीहरूले नेपाललाई ट्रान्जिट बनाउँदै लगेका छन्। नेपालमा सुरक्षित रूपमा लागूऔषध पुर्याउने र यहाँबाट अन्य देशमा लैजाने क्रम बढ्दो छ। हालैमात्र नेपाललाई ट्रान्जिट बनाएर कोकिन ओसारपसार गर्ने दुई जना विदेशी नागरिकलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।
मंगलबार उनीहरूलाई प्रहरीले नियन्त्रणमा लियो। दुई दिनसम्मको अनुसन्धानपछि बिहीबार सार्वजनिक गर्यो। मंगलबार बिहान उनीहरू काठमाडौं महानगरपालिका-१७ ठमेलबाट पक्राउ परेका थिए।
पक्राउ पर्नेमा केन्याली नागरिक ६३ वर्षीया पिलिसिला वान्जा एन्डिरितु र भारतीय नागरिक ५१ वर्षीय रवीन्द्रकुमार पारसर रहेका छन्। उनीहरूलाई फरक-फरक ठाउँबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताए।
केन्याली महिला वान्जा एन्डिरितु युएई हुँदै नेपाल आएकी हुन्। उनले कपडाको ब्यागको भित्र भागमा फिँजाएर १ केजी ८० ग्राम कोकिन ल्याएकी थिइन्। उनी वैशाख १ गते काठमाडौं आएकी थिइन्। एके ०७७९१६७ नम्बरको पासपोर्टमा इथियोपियाबाट युएई हुँदै काठमाडौं प्रवेश गरेकी उनले हाते झोलामा कोकिन बोकेर विमानस्थलबाट कटाइन्।
त्यसपछि उनले भारतीय नागरिक रवीन्द्रकुमार पारसरलाई उक्त कोनिन दिइन्। कोकिन लिइसकेपछि भारतीय नागरिक पारसर प्रहरीको फन्दामा परे। अनुसन्धानकै क्रममा उनले केन्याली महिलाबाट कोकिन लिएको बयान दिए। त्यसपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको जनाएको छ।
कोकिनको मूल्य २ करोड ३३ लाख २८ हजार पर्ने अनुमान प्रहरीले जनाएको छ। विना उद्देश्य नेपाल आएकी केन्याली महिला पिलिसिलालाई सुरुदेखि नै निगरानीमा राखेको प्रहरीले जनाएको छ। कुनै उद्देश्य विना नेपलाल आउनु शंकाको विषय हुने बताउँदै त्यस्ता विदेशी नागरिमाथि प्रहरीले विशेष निगरानी गर्ने गरेको जोशीको भनाइ छ।
सामान्य परिवारकी पिलिसिलाका श्रीमान् बितिसकेको तीन हजार अमेरिकी डलर पारिश्रमिक दिने प्रलोभनमा पारी उनलाई लागूऔषध ओसारपसार गर्न लगाएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
उनको साथबाट एक हजार अमेरिकी डलर पनि ब्यूरोको टोलीले बरामद गरेको छ। पिलिसिला आएको चार दिनपछि भारतीय नागरिक रवीन्द्रकुमार नेपाल आएका थिए। उनी भारतबाट बस चढेर नेपाल आएको प्रहरीको भनाइ छ। वैशाख ४ गते नेपाल पुगेका उनी भारतको उत्तर प्रदेशका वासिन्दा हुन्।
रवीन्द्रकुमारलाई नेपालबाट कोकिन दिल्ली पुर्याएबापत् २५ हजार भारतीय रुपैयाँ दिने गरी भरिया बनाइएको पाइएको उनको भनाइ छ। पक्राउ परेका दुबै जनाविरूद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। ऐनमा एक सय ग्रामभन्दा माथि लागूऔषध ओसारपसार गरे १५ वर्ष जन्मकैद र ५ देखि २५ लाखसम्म जरिवाना हुने व्यवस्था छ।