शनिबार, भदौ ६, २०८३

रोकिएन दाइजोको नाममा हिंसा, बिहेको १० वर्षपछि जलाइन् श्वेता

दाइजोको नाममा महिलामाथि भएको हिंसाको एउटा शृंखलामात्र हो यो। खासगरी मधेश प्रदेशमा दाइजोका कारण महिलामाथि हिंसा भएका घटना बाहिर आइरहन्छन्। 
 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा २८ वर्षीया श्वेता झा जलेको शरीर लिएर छटपटाइरहेकी छन्। पेटमा पोलिएको छ, दायाँ खुट्टा जलेको छ। शरीरका अन्य भागमा पनि आगोले क्षति पुर्‍याएको छ। 

उनी कुनै दुर्घटनाबाट आगोमा परेर घाइते भएकी होइनन्। श्रीमान‍् निर्दयी बनेर दाइजोमा ससुरालीले सुन नदिएको झोंकमा श्रीमतीको शरीरमा आगो लगाइदिएका हुन्।

श्वेताले राजीवसँग बिहे गरेको १० वर्ष भयो। उनीहरुका ९ वर्षका छोरा र ७ वर्षकी छोरी छन्। १० वर्षसम्म उनलाई राजीवका परिवारले माइतीले दाइजोमा सुन नदिएको भन्दै पटक-पटक यातना दिए। श्वेता सहँदै आएकी थिइन्। राजीवसँग सँगै जिउने-मर्ने कसम खाएको १० वर्षपछि परिवारका अन्य सदस्यसँग मिलेर उनैले श्रीमतीको शरीरमा आगो लगाए।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठाकी श्वेताको शरीरमा उनका श्रीमान् राजीवले परिवारका अन्य सदस्यसँग मिलेर आगो लगाएको बुझिएको प्रहरीले जनाएको छ। श्वेताले आफूलाई श्रीमान् राजीव, ससुरा शिवशंकर झा, सासू र देवरलगायतले कुटपिट गर्दै शरीरमा आगो लगाएर मार्ने प्रयास गरेको बताएकी छन्।

१० वर्षअघि बिहे हुँदा दाइजोमा स्वीकारेको तीन तोला सुन अहिलेसम्म माइतीले नदिएको भन्दै उनीहरूले आफूलाई विगतदेखि नै कुटपिट गर्दै आएको उनको गुनासो छ। 'मैले पिटाइ त कति खाएँ-खाएँ। यतिबेला त आगो लगाएर हत्या नै गर्न खोजे। यो त अत्ति भयो,' उनले गहभरि आँशु पारेर भनिन्।

दाइजोको नाममा महिलामाथि भएको हिंसाको एउटा शृंखलामात्र हो यो। खासगरी मधेश प्रदेशमा दाइजोका कारण महिलामाथि हिंसा भएका घटना बाहिर आइरहन्छन्।

वैशाख १ गते नयाँ वर्षको अवसरमा घरमा खुसीयाली छाउनुपर्नेमा आफूलाई आगो लगाई अत्या गर्न खोजिएको उनले सुनाइन्। 'वैशाख १ गते राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरेपछि म जोगाउन गएकी थिएँ। छोरालाई कुटाइ खानबाट छेक्ने क्रममा मलाई पनि कुटपिट गर्दै आफ्ना भाइ, बुबा र आमाको सहयोगमा शरीरमा आगो लगाइदिए,' उनले भनिन्।

राजीवको परिवारले आफूलाई मरणासन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाए पनि उपचारका लागि अस्पतालसमेत नल्याएको उनको दुखेसो छ। घटनाबारे थाहा पाएपछि भारत बिहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायत आफन्त आएर उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन्। श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ।

दाइजोको नाममा महिलामाथि भएको हिंसाको एउटा शृंखलामात्र हो यो। खासगरी मधेश प्रदेशमा दाइजोका कारण महिलामाथि हिंसा भएका घटना बाहिर आइरहन्छन्। 

हालैमात्र महोत्तरीमा पनि दाइजोको निहुँमा नवदुलहीमाथि कुटपिट भएको थियो। दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामान नदिएको भन्दै दुलही कुटिएकी हुन्। सर्लाही हरिपुर्वा नगरपालिकाका जोगनारायण साहसँग उनको विवाह भएको थियो। विवाह भएको चार दिनमै दाइजो नदिएको भन्दै श्रीमानसहित परिवारका सदस्यले उनलाई कुटपिट गर्न थालेका थिए।

विवाह गरेको चार पाँच दिनपछि उनी माइत गएकी थिइन्। त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन्। घर फर्किएपछि आफूमाथि झन् धेरै दुर्व्यवहार भएको दुलहीले बताएकी छिन्।

माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन्। प्रहरीका अनुसार कुटपिटमा संग्लन ससुरालाई पक्राउ गरिएको छ। उनको विवाहमा नगद तीन लाख ७५ हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिइएको थियो। तर यो कम भएको भन्दै घरका सदस्यले कुटपिट गर्ने गरेका पीडितले बताएकी छन्। 

उता दाइजोको निहुँमा श्रीमतीलाई कुटपिट गरेको आरोप लागेका डा. पंकज चौधरी पक्राउ परेका  छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले चौधरीलाई पक्राउ गरेको हो। चौधरीलाई उनकै घर रामगोपालपुर नगरपालिका-५ बाट पक्राउ गरिएको हो। उनले दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरेका थिए। 

पक्राउ परेका पंकजविरुद्ध दाइजो लिन नहुने र घरेलु हिंसासम्बन्धी दुई वटा कसुरमा मुद्दा चलाइने प्रहरीले बताएको छ। तीन वर्षअघि काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दै गर्दा महोत्तरी औरहीकी नेहासँग पंकजको भेट भएको थियो। त्यसपछि प्रेममा परेका उनीहरुले २०७७ फागुन ६ गते टीकाटालो गर्दै एक वर्षपछि २०७८ फागुन २५ गते विवाह गरेका थिए। 

५१ लाख रुपैयाँसहित नेहाको परिवारले २० तोला सुन दाइजो दिएको थियो। दाइजो कम भएको भन्दै पंकजको परिवारले नेहालाई मानसिक तनाव दिन थालेको थियो। पछि पंकजले समेत नेहालाई घरेलु हिंसा गर्न थालेका थिए। 
त्यसपछि प्रहरीले पंकजलाई पक्राउ गरेर सम्झाइबुझाइ गरेर छाडेको थियो। त्यसपछि पनि दाइजोको निहुँमा घरेलु हिंसा हुने क्रम नरोकिएपछि उनीविरुद्ध नेहाले उजुरी दिएकी थिइन्। 

नेहाले आफूमाथि हिंसा भएको सार्वजनिक गरेपछि पंकजलाई ग्राण्डी अस्पतालले सेवाबाट निकालेको छ।

प्रकाशित: Apr 21, 2023| 12:12 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्