गुल्मी- गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दिपक मुखियाको पाल्पामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर गम्भीर घाइते भएका छन्। गम्भीर घाइते कुँवरलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ।
धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा बिहिबारदेखि लागेको आगो निभाउन गएका बेला शरिरको बाहिरि भाग पुरै जलेको प्रहरीले जनाएको छ। जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन्।
आगो नियन्त्रणमा आउन सकेको छैन्। बिहिवार दिउँसो जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो वस्तीमा पुग्दा २ जनाकोघर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताए।
आगलागिबाट इस्मा गाउँपालिका वडानम्बर ५ वस्ने रुद्रबहादुर कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले कच्ची घर र ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तले कच्ची कटेरो जलेर पुर्ण रुपमा नष्ट भएको छ। गोठमा बाँधेको ६ वटा माउँ बाख्रा पनि जलेर मरेको प्रहरीले जनाएको छ।
त्यस्तै शिबलाल कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले कच्चि घर, ढुङ्गा माटोले बनेको टिनको छानो भएको १ तले कच्ची गोठ जलेर नष्ट भएको प्र्रहरी निरीक्षक श्रेष्ठले बताए।
गर्मीयाम सुरुभएसँगै आगलागिका घटनाहरु दैनिकजसो वढदै गएका छन्। जिल्लाका आधा दर्जन बढी स्थानमा आगलागीका घटना भइरहेका छन्। त्यस स्थानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीय जनप्रनिधिहरू खटिएर नियन्त्रणमा लिने काम गरिरहेका छन्।