बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा मेरो भयो : सभापति देउवा

गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा मेरो भयो : सभापति देउवा

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन्।

National life

लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गरे। उनले भने , “तपाईहरूले जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो।” 
अहिलेको सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउने उल्लेख गर्दै उनले विकासका लागि समेत ढुक्क रहन आग्रह गरे। “चितवन ऐतिहासिक जिल्ला हो। जिताएर पठाउनुस्, अरु हामी गर्छौं। जीतनारायण श्रेष्ठ काम गरेको र दुःख गरेको मान्छे भएकाले निर्वाचनमा जिताउनुपर्छ”, सभापति देउवाले भने–“विसं २००७, २०४७ साल र २०६२/६३ सालको जनआन्दोलनमा यहाँका साथीहरूको सहभागिता र सक्रियतालाई बिर्सन हुँदैन्।”

चुनावीसभामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रजातन्त्रको बहालीका लागि अग्रपङ्क्तिमा लड्दै आएको चितवनका बासिन्दाले आफ्नो मतलाई गलतरुपमा प्रयोग गर्न नहुने बताए। विचार र सिद्धान्त नभएको पार्टीले देशलाई सुशासन दिन नसक्ने उनको भनाइ थियो।

सोही अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले देशमा व्यक्तिवादी चरित्र हाबी हुन थालेको उल्लेख गर्दै पुराना र इतिहास बोकेका पार्टीलाई सहयोग गर्न आग्रह गरे। उनले भने , “अवसरवादीले राजनीतिक दललाई घेराबन्दी गरेका छन्, त्यसलाई तोडेर अघि बढ्नुपर्छ।”

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी चार वर्षमा आम नागरिकले देख्ने गरी विकास हुने बताए। विकासका लागि सत्ता गठबन्धनका उम्मेदवार जिताउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा चितवन क्षेत्र नं २ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले आफूले यस क्षेत्रको समस्या नजिकबाट पहिचान गरेकाले समस्या समाधान गर्न पनि जिम्मेवारी दिन आग्रह गरे। उनले भने , “यहाँको विकासका लागि मेरो भूमिका महत्वपूर्ण रहने छ। यहाँको विश्वासलाई धोका दिने छैन।”

प्रकाशित: Apr 20, 2023| 20:47 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्