बारा- नेताहरू १० वैशाखमा हुने उपनिर्वाचनको सरगर्मी छन्। दलका शिर्ष नेता आफ्ना उम्मेदवार जिताउन दौडधुपमा लागेका छन्। सत्तारुढ गठवन्धनका शीर्ष नेतालाई यतिबेला चुनावी सभा सम्वोधन गर्न भ्याईनभ्याई छ।
सत्तारुढ गठवन्धनका नेताहरू आज बारा–२ का उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन चुनावी माहोल बनाउन महागढीमाई पुगेका छन्। सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गर्ने छन्।
बारा २ मा १ लाख ५ हजार २९८ मतदाता छन्। उक्त क्षेत्रमा ३६ जनाले उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराए छन्। तर, चर्चा चार जनाको छ।
जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका उम्मेदवार पूर्वमन्त्री पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका उम्मेदवार रमेश खरेलको विशेष चर्चा छ। यादव, कुशवाह र खरेल गत आज चुनावमा पराजित उम्मेदवार हुन्।
बारा–२ बाट गत चुनावमा जसपा उम्मेदवार रामसहाय यादव विजयी भएका थिए। उनी उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। गत निर्वाचनमा जसपाकै केन्द्रीय सदस्य रामकिशोर प्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिएर ११ हजार ४३ मत प्राप्त गरेका थिए।
उनै यादव जसपामा फर्किनु र कांग्रेसका बागी उम्मेदवार बनेर १० हजार ७५० मत ल्याएका रविन्द्रप्रसाद यादवले पनि समर्थन दिनुले उपेन्द्र यादवलाई फाइदा पुग्ने देखिएको छ।
रविन्द्रप्रसाद यादव संविधान सभाका पूर्व सदस्य तथा ३ कार्यकाल नेपाली कांग्रेसको बारा जिल्ला सभापति भएका राधेचन्द्र यादवका भतिजा हुन्। उनको समर्थनले कांग्रेसभित्रको एउटा ठूलो तप्काको समर्थन जसपा अध्यक्ष यादवलाई छ भन्ने अनुमान धेरैको छ। उपेन्द्र यादव स्थानीय नहुनुले भने उनलाई गाह्रो हुने चर्चासमेत हुने गरेको छ। उनलाई अर्को भाइदा भनेको गठबन्धन आवद्ध दलको समर्थन हुनु पनि हो।
सत्ता गठबन्धनको अर्को ठूलो दल माओवादी केन्द्रको मत बाँडिएर कुशवाहाको पक्षमा जाने निश्चित छ। यद्यपि, यस क्षेत्रमा जमेका पूर्व-माओवादी नेता प्रभु साह नेतृत्वको आमजनता पार्टीका तर्फबाट अरुण कुमार ज्ञवाली उम्मेदवार बनेका कारण पहाडी मूलको केही मत र माओवादी केन्द्रको केही मत उनको पक्षमा पनि जानेछ। जसले गर्दा उपेन्द्रलाई नै असर पर्ने देखिन्छ।
यसरी मधेसी समुदायको बाहुल्यता रहेको बारा २ मा दुई भागमा मत विभाजित हुने भएको छ। यस क्षेत्रको मत यादव समुदाय र अन्य समुदायमा विभाजित छ। जातीय हिसाबले यादव समुदायको मत सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्र यादवले पाउने ठानिए नि सप्तरीमा हारेका उम्मेदवारलाई खडा गरेको भन्दै असन्तुष्ट यादव समुदायको पूरा मत प्राप्त नहुने अवस्था छ। उपेन्द्रलाई गठबन्धनकै टेकोको ठूलो भनर छ।
यसकारण भूगोलको मत ज्ञवाली र कुशवाहालाई जानेछ। कुशवाहा बारा–२ अन्तर्गतको महागढीमाई नगरपालिका बरियारपुरका स्थानीय हुन् भने ज्ञवाली महागढी माई नगरपालिका गंजभवानीपुरका हुन्। यसले पनि उपेन्द्रलाई चुनाव जित्न फलामको चिउरा सरी हुने देखिएको छ।
यसैबीच, नेकपा एमालेबाट उम्मेदवार बनेका पुरुषोत्तम पौडेललाई पनि यस क्षेत्रमा चुनाव जित्न कठिन छ। यो क्षेत्रमा एमाले मत काट्ने फ्याक्टरको रूपमा मात्रै रहने भएको छ। भूगोलको हिसाबले बाराकै भए पनि पौडेललाई बारा–२ बाट पर्याप्त मत प्राप्त हुने अवस्था छैन।
यादव, कुशवाहा र पौडेलको चुनौती राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका पूर्व डीआइजी रमेश खरेलका लागि भने अवसर बनेको छ। तर, बाहिरबाट गएका र उक्त समूदायमा नभिजका कारण उनलाई भने जति सजिलो भने छैन।