शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंको फोहोर रोक्ने ककनी र धुनिबेशीका जनप्रतिनिधिको चेतावनी

काठमाडौंको फोहोर रोक्ने ककनी र धुनिबेशीका जनप्रतिनिधिको चेतावनी

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिले फोहोर रोक्ने चेतावनी दिएका छन्।
 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिले फोहोर रोक्ने चेतावनी दिएका छन्।

हाल नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थपन हुँदै आइरहेको छ। काठमाडौं महानगरपालिकासहित १८ वटा स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएकोमा त्यहाँका जनप्रतिनिधिहरुले राखेको माग पूरा नभएको भन्दै १५ दिने अल्टिमेटम दिएका छन्।

बुधबार ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यसहित जनप्रतिनिधिहरुको बैठक बसी विभिन्न ६ बुँदे माग राखेका छन्। माग पूरा नभए फोहोर रोक्ने चेतावनीसमेत उनीहरुले दिएका छन्।

यसअघि गत जेठ २६ गते शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र फोहोरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षहरुको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता भएको थियो। 

ती सम्झौता अक्षरसः कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग रहेको छ। त्यस्तै बन्चरेडाँडाको फोहोरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गिकरण गरी बन्चरेडाँडाबाट २ किमि जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुअब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग रहेका छन्। आफ्ना माग यथाशिघ्र पूरा नभए दुवै स्थानीय तहको कार्यपालिका बैठक बसी फोहोर व्यवस्थापन गर्न नदिने चेतावनीसमेत दिएका छन्।

यसअघि लामो समयदेखि फोहोरले त्यहाँका बासिन्दाहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै सरकार र सरोकारवाला निकायहरुबीच सम्झौता भएको थियो। तर सरकारले आफ्ना मागहरु पूरा नगरेको वडा अध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित: Apr 20, 2023| 13:09 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्