धनगढी- सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्ना प्रक्रियाको विरोध गर्दा डिल्लीराज भट्ट नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका छन्। अस्पताल व्यवस्थापन समितिका सदस्य रहेका भट्टलाई नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीको पदाधिकारी बैठकले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।
नगर अध्यक्ष सुरज खातीको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले पार्टीको विधि र नीति विपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी गरी निष्कासन गरेको छ। नगर कमिटी सचिव रमेश भट्टराईले पार्टीको अनुशासन विपरीत काम गरेकाले भट्टलाई कारबाही गरिएको बताए।
सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्नामा अनियमितता भइरहेको भन्दै भट्टले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेलाई विधिसम्मत काम गर्न ध्यानाकर्षण गराएका थिए। सोही विषयलाई लिएर माओवादी केन्द्रको धनगढी नगर कमिटीका अध्यक्ष सुरज खातीले २८ चैतमा भट्टलाई स्पष्टीकरण सोधेका थिए।
‘तपाईलाई पार्टीको तर्फबाट सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्यको जिम्मेवारी दिइएको, उक्त अस्पतालमा पार्टीको तर्फबाट व्यवस्थापन समितिको अध्यक्ष हुँदा तपाईले संस्था र पार्टीको हित विपरीत कार्य गरेका पाइएकाले दुई दिन आफ्नो लिखित जवाफ पेश गर्नका लागि यो पत्र पठाइएको छ,’ अध्यक्ष खातीले सोधेको स्पष्टिकरण पत्रमा भनिएको थियो।
भट्टले दुईभित्र जवाफ पेश गरेको भए पनि चित्त नबुझेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको हो। भट्ट माओवादी केन्द्रको धनगढी नगर सचिवालय सदस्य, प्रचारप्रसार विभाग प्रमुख र वडा नम्बर ४ को इन्चार्जको जिम्मेवारीमा थिए।
प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य भट्टले भने पार्टीले गरेको कारबाही आन्तरिक विषय भएको प्रतिक्रिया दिएका छन्। उनले पार्टी कमिटी र नेतृत्वसँग कारबाहीको विषयमा आफूले छलफल गरिरहेको बताउँदै अस्पताल व्यवस्थापन समितिको सदस्यको हैसियतमा व्यक्तिगत स्वार्थपूर्ति गर्न ऐन, कानून विपरीत काम गर्न नसक्ने बताएका छन्।
उनले अस्पतालमा कर्मचारी भर्ना गर्दा पारदर्शी हुनुपर्छ भन्दा कारबाही भोग्नु आपत्ति जनक भएको बताए। 'हामी सबै जना विधि र पद्धति अनुसार चल्नुपर्छ। सामान्य जनताको छोराले पनि सेवा गर्ने अवसर पाउनुपर्छ। पहुँचको भरमा कर्मचारी भर्ना गरिनु हुँदैन। त्यसमा म दृढ छु,' उनले भने। राम्रो काम गर्न खोज्दा पार्टीबाट कारबाही भोग्दा आफू अचम्मीत परेको उनको प्रतिक्रिया छ।
करिव २८ लाख नागरिकको जीवन सेती प्रादेशीक अस्पतालसँग जोडिएको हुँदा व्यक्तिगत र संस्थागत स्वार्थपूर्ति हुने प्रवृत्ति विकास हुँदै गएमा कुनै पनि परिस्थितिमा कसैलाई पनि आफ्नो साथ र सहयोग नरहने भट्टको भनाइ छ।
'म न्याय र सत्यको पक्षमा उभिने व्यक्ति हुँ। मैले आम जनताका पक्षमा बोल्दा कहाँ काम बिगारेँ। पार्टी कार्यकर्ताको रूपमा पार्टीको शिद्धान्तप्रति सदैव अविचलित रुपमा उभिँदै आएको छु र आगामी दिनमा पनि सिद्धान्तमा प्रतिवद्ध रहने छु। सुदूरपश्चिम प्रदेशमा रहेका आम नागरिकको जनजीवनसँग खेलवाड हुने प्रवृतिका कामममा मेरो सहयोग रहने छैन,' उनले भने।