महोत्तरी- सडक दुर्घटनामा परी महोत्तरीमा पाँच वर्षीया बालिकासहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
माईस्थान–गौशाला–सम्सी सडकको गौशाला–१ मा बा३ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१–००४–प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो।
मृतकहरू सिरहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, अमृतकी पत्नी २४ वर्षीया अञ्जु मण्डल र पाँच वर्षीया भतिजी अङ्शु मण्डल रहेको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार गिरीले जानकारी दिए।
सिरहाबाट महोत्तरीको गौशाला हिँडेका मण्डल परिवार सवार मोटरसाइकल गौशालाबाट जनकपुरतर्फ गइरहेको बसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटना भएलगत्तै तीन जनामध्ये अमृत र अङ्शुलाई बर्दिबास–१४ स्थित शुभस्वस्तिक अस्पताल र अञ्जुलाई बर्दिबास ट्रमा सेन्टर पुर्याइएको थियो। त्यहाँ चिकित्सकले तीनैजनालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका बस र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ। बसका चालक भने घटनालगत्तै फरार भएका प्रनाउ गिरीले बताए।