शनिबार, भदौ ६, २०८३

इच्छाकामनाका चेपाङलाई निःशुल्क विद्युत् मिटर 

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ।  गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो समुदायको घरमा विद्युत् मिटर जडान गरिदिएको हो।

गाउँपालिकाले हालसम्म वडा नं ६ को २१ घरमा मिटर जडान गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिए। उनका अनुसार वडा नं ७ को २३ र वडा नं ४ का १० घरमा पनि जडान गर्ने अन्तिम तयारी भइरहेको छ। साथै चालु आव सो कार्यक्रमका लागि रु दुई लाख बजेट विनियोजन गरेकोले आवश्यकता अनुसार थप घरमा समेत जडान गरिने उनले बताए। 

गाउँपालिकाले– ४ र ६ मा इच्छाकामनामा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गरिरहेको मुग्लिनस्थित मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थामार्फत निःशुल्क मिटर जडान गरिरहेको छ, भने वडा नं ७ मा नेपाल विद्युत् प्राधिकरणमार्फत मिटर जडान गरिरहेको छ। 

गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी यो कार्यक्रम ल्याइए पनि विपन्न वर्गका अन्य समुदायको घरपरिवारमा समेत निःशुल्क विद्युत् मिटर जडान गरिने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए।

साथै आगामी वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरूको न्यूनतम विद्युत् महसुलसमेत गाउँपालिकाले तिर्ने योजना ल्याउने तयारी भइरहेको उनले बताए।

प्रकाशित: Apr 19, 2023| 21:17 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्