काठमाडौं- उपनिर्वाचन नजिकिँदै जाँदा उम्मेदवार तथा दलहरुले प्रचारप्रसार तीव्र बनाएका छन्। यही वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बजेबाट सुरु हुनेछ। त्यसपछि कुनै पनि किसिमको प्रचारप्रसार गर्न पाइँदैन।
मौन अवधि सुरु हुन एक दिनमात्र बाँकी हुँदा चुनावको चटारो बढेको छ। प्रतिनिधिसभाका तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ र तीनै क्षेत्रमा आम मानिसको चासो छ। त्यसमा पनि तनहुँ-१ बढी चर्चामा छ। नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा कांग्रेसकै उम्मेदवार जिताउन कांग्रेसमात्र होइन, सत्ता गठबन्धनका शीर्ष नेताहरू नै लागिपरेका छन्।
यसैबीच तनहुँ-१ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न शीर्ष नेता पुगेका छन्। भट्टराईको पक्षमा चुनावी माहोल बनाउन माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र तीनजना पूर्वप्रधानमन्त्री एकै दिन तनहुँ पुगेका हुन्।
डुम्रेमा आयोजित चुनावी सभाको मञ्चमा प्रधानमन्त्री प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र बाबुराम भट्टराई छन्। तनहुँ-१ मा कांग्रेसबाट भट्टराई, रास्वपाबाट स्वर्णिम वाग्ले र नेकपा एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ।
स्वर्णिम हालैमात्र कांग्रेस छाडेर रास्वपामा लागेका हुन्। गत आमनिर्वाचनमा कांग्रेसबाट टिकट लिने प्रयास गरेका अर्थशास्त्री वाग्ले सभापति शेरबहादुर देउवासँग दूरी बढ्दै गएपछि रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन्।
सर्वेन्द्र भने गत मंसिरको निर्वाचनमा काठमाडौं-६ बाट पराजित भएका पूर्व आईजीपी हुन्। तनहुँ उनको पुर्ख्यौली थलो हो। कांग्रेसका भट्टराई जिल्लाकै नेता हुन्। यस अर्थमा सबै बलिया उम्मेदवार छन्।