काठमाडौं- भारतले जनसंख्याको मामिलामा चीनलाई पनि पछि पारेको छ। संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार भारत अहिले विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ।
भारतको जनसंख्या १४२.८६ करोड पुगेको छ भने चीनको जनसंख्या १४२.५७ करोड छ। भारतले चीनलाई २९ लाखले नाघेको हो।
सन् १९५० पछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो। संयुक्त राष्ट्रसंघले गत वर्ष नै भारत विश्वको सबैभन्दा धेरै जनसंख्या हुने देश बन्ने बताएको थियो।
गत वर्ष चीनको जनंख्या उच्च बिन्दुमा पुगेर घट्न थालेको थियो भने भारतको बढ्न थालेको थियो। केही वर्षअघिसम्म भारतले चीनको जनसंख्या उछिन्छ भन्ने अनुमान नगरिए पनि चीनमा विगतमा रहेको 'एक सन्तान' नीति र प्रजनन दर घट्दो क्रममा रहेकाले भारत अगाडि आएको हो। अघिल्लो वर्षमात्र चीनले एक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो।
युएनको प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ। चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ।
भारतमा सन् २०२१ मै जनगणना हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो।