शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • महोत्तरीमा बससँग मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीनजनाको मृत्यु

महोत्तरीमा बससँग मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीनजनाको मृत्यु

 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

काठमाडौं- महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीनैजना मोटरसाइकलमा सवार रहेको प्रहरीले जानकारी दिएको छ। 

महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला सम्सी सडक खण्डमा बुधबार दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्। गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ। मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका-१० बस्ने २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल छन्। बसका चालक फरार भएकाले उनको खोजी भइरहेको महोत्तरीले जनाएको छ।

उता मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित नयाँबस्ती चोकमा सवारी दुर्घटना हुँदा चार जना भारतीय नागरिक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार दिउँसो ३ बजेतिर बाराबाट हेटौंडा बजारतर्फ आउँदै गर्दा ना ५ ख ८५६२ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको भारतीय टीएस ०९ एफएक्स ३१७७ नम्बरको कारलाई ठक्कर दिँदा कार सवार चारजना घाइते भएका हुन्। घाइते हुनेमा आन्द्र प्रदेश तेनालीका ७० वर्षीय साहिबाबु, भारत हैदरावादका ३८ वर्षीय राजेश एलीगल्ला, ७६ वर्षीय सुरेन्द्र नारल्ला र कार चालक ४८ वर्षीय कृष्ण नारल्ला रहेका छन्।

घाइते चारै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रकाशित: Apr 19, 2023| 16:18 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्