काठमाडौं- उपनिर्वाचन नजिकिँदै जाँदा उम्मेदवार तथा दलहरुले प्रचारप्रसार तीव्र बनाएका छन्। यही वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बजेबाट सुरु हुनेछ। त्यसपछि कुनै पनि किसिमको प्रचारप्रसार गर्न पाइँदैन।
मौन अवधि सुरु हुन एक दिनमात्र बाँकी हुँदा चुनावको चटारो बढेको छ। प्रतिनिधिसभाका तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ र तीनै क्षेत्रमा आम मानिसको चासो छ। त्यसमा पनि तनहुँ-१ बढी चर्चामा छ। नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा कांग्रेसकै उम्मेदवार जिताउन कांग्रेसमात्र होइन, सत्ता गठबन्धनका शीर्ष नेताहरू नै लागिपरेका छन्।
यहाँ सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका गोविन्द भट्टराईका लागि एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले चुनौती बनेका छन्। स्वर्णिम हालैमात्र कांग्रेस छाडेर रास्वपामा लागेका हुन्। गत आमनिर्वाचनमा कांग्रेसबाट टिकट लिने प्रयास गरेका अर्थशास्त्री वाग्ले सभापति शेरबहादुर देउवासँग दूरी बढ्दै गएपछि रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन्। सर्वेन्द्र भने गत मंसिरको निर्वाचनमा काठमाडौं-६ बाट पराजित भएका पूर्व आईजीपी हुन्। तनहुँ उनको पुर्ख्यौली थलो हो। कांग्रेसका भट्टराई जिल्लाकै नेता हुन्। यस अर्थमा सबै बलिया उम्मेदवार छन्।
उपनिर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धनले बुधबार तनहुँमा चुनावी सभा आयोजना गरेको छ। सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका माओवादीअध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू तनहुँ जाँदैछन्। चुनावी सभामा डुम्रेमा हुने तय छ।
नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको तनहुँ-१ मा कांग्रेसकै उम्मेदवार जिताउन कांग्रेसमात्र होइन, सत्ता गठबन्धनका शीर्ष नेताहरू नै लागिपरेका छन्।
कांग्रेस उम्मेदवार भट्टराईका पक्षमा मत माग्न कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार दमौली पुगेका थिए। कांग्रेस नेताहरु शेखर कोइराला, धनराज गुरुङ, मीनेन्द्र रिजाल, प्रदीप पौडेललगायतले पनि तनहुँ पुगेर भट्टराईका लागि भोट मागेका थिए।
एमाले उम्मेदवार खनालका लागि मत माग्न नेताहरू पृथ्वीसुब्बा गुरुङ, पद्मा अर्याल, किरण गुरुङ, महेश बस्नेत, भगवती न्यौपाने, टुकराज सिग्देललगायत घरदैलोमा पुगेका छन्। वाग्लेका लागि रास्वपा सभापति रवि लामिछाने, केन्द्रीय सदस्य तथा सांसदहरू विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सन्तोष परियार, सोविता गौतमलगायत दमौली पुगेका थिए। रवि आफैं पनि चितवन-२ का उम्मेदवार हुन्।
कांग्रेस उम्मेदवार भट्टराईले आफ्नो २४ बुँदे घोषणापत्रमा भ्रष्टाचार न्यूनीकरण, डिजिटल गभर्नेन्स, निःशुल्क खानेपानी, रोजगारी, सडक पूर्वाधारलगायत विषय समेटेका छन्। एमालेका खनालले आफ्नो २५ बुँदे प्रतिबद्धतापत्रमा समृद्धि, पूर्वाधार विकास, रोजगारीको ग्यारेन्टीलगायत एजेन्डा राखेका छन्। एमालेको ‘२०–२० ग्यारेन्टी’ शैलीको प्रतिबद्धतालाई उनले महत्त्व दिएका छन्।
अहिलेको राजनीति सङ्ल्याउन र अर्थतन्त्र उकास्न उम्मेदवारी दिएको बताउँदै आएका रास्वपाका वाग्लेले पनि ५ वटा मूल राष्ट्रिय एजेन्डालाई अघि सारेका छन्। जनउत्तरदायी लोकतन्त्र र भ्रष्टाचाररहित राजनीति, रोजगारी र उत्पादन वृद्धिसहितको मजबुत अर्थतन्त्र, सामाजिक न्यायसहितको समुन्नति, जलवायु परिवर्तन र वातावरणमैत्री विकास तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित नेपाली छवि बनाउने उनका एजेन्डा छन्।
गत मंसिरको निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरी निर्वाचित भएका थिए। दोस्रोमा एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत ल्याएका थिए। कांग्रेसका पूर्वसहमहामन्त्री जोशीले स्वतन्त्र लडेर ६ हजार ८ सय ८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए। समानुपातिकतर्फ कांग्रेसले २० हजार १ सय ५८, एमालेले १६ हजार ६ सय ८३, रास्वपाले १२ हजार ७ सय ७३, माओवादीले ७ हजार ३ सय २६, राप्रपाले ३ हजार ५ सय ७७, एकीकृत समाजवादीले ९ सय ५० मत पाएका थिए।
तनहुँ-१ मा देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाका १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ वडा छन्। स्थानीय निर्वाचनमा यस क्षेत्रका ४२ वटा वडामध्ये २६ वटा कांग्रेसले, ९ वटा एमालेले, ५ वटा माओवादीले र २ वटा स्वतन्त्र उम्मेदवारले जितेका छन्।