शुक्रबार, साउन ८, २०८३

सोचेको परिणाम नआए पनि लोकप्रियता कायमै छ : एमाले महासचिव पोखरेल

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

कर्णाली- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताएका छन्।

आज आयोजित सङ्गठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियानअन्तर्गत बृहत् कार्यकर्ता भेलामा उनले गठनबन्धन शक्तिसँगको चुनाव प्रतिस्पर्धामा एमालेले आफ्नो जनमत कमजोर नभएको पुष्टि गरेको जिकिर गरे।

आफूलाई ठूला दल भन्नेले एकल तरिकाले चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने उहाँले दाबी गरे। उनले भने, “हामी एमालेलाई देशकै पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिनका लागि दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हौँ। यसले मुलुकमा उत्साह र उमङ्ग ल्याएको छ।”

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताका सरोकारका विषयलाई केन्द्रविन्दुमा राखेर पार्टी बलियो र पहिलो बनाउने अभियानमा लागिएको बताए।

“हामी एमालेलाई पहिलो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्दैछौँ। अहिले हामीलाई सरकारका जाने कुनै चासो छैन”, उनले भने , “हाम्रो लक्ष्य र उद्देश्य भनेकै ‘समृद्ध नेपाल, सुखी नेपाली जनता’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु नै हो।” राजनीतिक स्थायित्व कायम गर्न मुलुकमा बलियो पार्टी बन्ने अभियानको यात्रामा एमाले लागेको उपाध्यक्ष नेम्वाङको भनाइ थियो।

प्रकाशित: Apr 18, 2023| 21:29 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्