शनिबार, भदौ ६, २०८३

डडुवा, रानीटार र झुलेटारमा फस्टायो तरकारी खेती

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

चौतारा- सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन्। “म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिए, अहिले यो तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ”, गोलभेँडा टिप्दै डडुवाकी मीना नेपालले भनिन्।

दुईचार पैसाका निम्ति निकै कष्ट भोगेकी नेपाललाई अहिले तरकारी व्यवसायबाट राम्रो आम्दानी मिलेको छ। गोलभेँडा बेचेर यो वर्ष सात लाख घर भित्रिने उनको अनुमान छ। अहिले उनले चार रोपनी बारीमा गोलभेँडा रोपेका छन्। उनी भन्छिन्, “श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासूससुरा काम गर्न सक्नुहुन्न। रेखदेख मेरै हो, बिदाको समयमा सहयोग गर्नुहुन्छ।” खेताला, बीउबिजन, औषधि गर्दा डेढ लाख जति लगानी परेको छ।

हरेक दिन दिउँसो ४ बजेपछि डडुवा, रानीटार र झुलेटारबाट साँगाचोक हुँदै गोलभेँडा बोकेर दैनिक पाँचदेखि ११ वटासम्म गाडी काठमाडौँ जान्छन्। गाडी लिएर किसानको गोलभेँडा लिन व्यापारी गाउँमा नै आउँछन्।

यो क्षेत्र समुन्द्री सतहबाट एक हजार चार सय मिटरको उचाइमा छ। दक्षिणपट्टि फर्केको जमिन, रातो र कालो मिसिएको माटो तरकारीका लागि उर्वर मानिन्छ। सामान्य रुपमा गोलभेँडा रोपेका परिवारले पनि यो समय कम्तीमा एक लाख आम्दानी गरेको राम तामाङ बताउँछन्।

धेरै क्षेत्रफलमा गोलभेँडा लगाउँदै आउनुभएका उद्धव नेपालको परिवारले २० लाखको बेचिसकेको छ। अहिले गोलभेँडा र काउली मात्र भए पनि यामअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका डडुवाका स्थानीय किसानले तरकारी बेचेर मनग्य आम्दानी भित्र्याउने गरेका छन्।

चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि व्यवसाय फस्टाउँदै गएको छ। तरकारी बिक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ। किसानले खर्च कटाएर बचेको पैसा बचत गर्न थालेको नेत्रज्योति कृषि सहकारी संस्थाका प्रबन्धक नेत्रबहादुर बस्नेतले जानकारी दिए।

प्रकाशित: Apr 18, 2023| 21:46 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्