शुक्रबार, साउन ८, २०८३

तनहुँ ओइरिँदै कांग्रेस नेता

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- तनहुँ-१ को उपनिर्वाचनमा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार बनेका छन्। उनलाई जिताउनका लागि कांग्रेस नेताहरू तनहुँ केन्द्रित भइरहेका छन्।

भट्टराईको पक्षमा माहोल सिर्जना गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार तनहुँ जाने भएका छन्। उनी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचन लक्षित चुनावी सभा सम्बोधनका लागि तनहुँ जाने भएका हुन्। 

बुधबार सभापति डुम्रेमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न सभापति देउवा तनहुँ जान लागेको कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले  बताए। जिल्ला सभापति आलेले डुम्रेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि तनहुँ आउने कार्यक्रम रहेको बताए।

सत्ता गठबन्धनले तनहुँ–१ मा पर्ने दमौलीमा मंगलबार संयुक्त चुनावी सभा गर्दैछ। नेपाली कांग्रेसको ब्यास नगरकार्यसमितिको आयोजनामा हुन गइरहेको चुनावी सभा दिउँसो १ बजे बाट सुरु हुने भएको छ। 

चुनावी सभालाई कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

तनहुँ १ बाट विजयी प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

भर्खरै कांग्रेस परित्याग गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेको पनि कांग्रेसलाई डर रहेको छ। अर्थ क्षेत्रका राम्रो जानकार रहेका र रास्वपाप्रतिको आकर्षणका कारण पनि उनीप्रति कांग्रेस डराएको बताइएको छ।

प्रकाशित: Apr 18, 2023| 14:08 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्