हेटौंडा- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मकवानपुर जाने भएका छन्। काठमाडौं–तराई मधेश द्रूतमार्ग (फाष्ट ट्रयाक) को बकैया–५ स्थित क्षेत्रको स्थलगत अवलोकनका लागि प्रचण्ड मंगलबार मकवानपुर जाने भएका हुन्।
उनी बिहान ११ बजे हेलिकप्टरमार्फत् बकैया–५ पुग्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए। प्रधानमन्त्रीको स्थलगत अनुगमनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक शान्ति सुरक्षाको समेत प्रबन्ध मिलाएको छ।
नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं —तराई/मधेश द्रूतमार्ग निर्माण गरिरहेको छ। अवलोकनमा द्रूतमार्ग आयोजना प्रमुख तथा प्राविधिकसमेत सहभागी हुनेछन्।
प्रस्तावित ७६ किमी लामो उक्त मार्गलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टञरमार्फत् काम भइरहेको नेपाली सेनाले जनाएको छ।