शुक्रबार, साउन ८, २०८३

अर्थतन्त्रमा उत्पन्न परिस्थिति सामान्य होइन : राजेन्द्र लिङ्देन

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अर्थतन्त्रमा उत्पन्न विषम परिस्थितिलाई सामान्य रूपमा लिन नसकिने बताएका छन्।

ऋण काढेर कर्मचारीले तलब तथा जनप्रतिनिधिले सेवा सुविधा लिनुपर्ने परिस्थिति रहेको भनी सरकारी अधिकारीले नै बताउनुले मुलुक गम्भीर सङ्कटतर्फ गएको पुष्टि भएको लिङ्देनको भनाइ छ। आज राप्रपा पाँचथरले फिदिममा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चालु खर्च चलाउन ऋण उठाउनुपर्ने स्थिति सामान्य कुरा नरहेको र यो अवस्था सहजै समाधान गर्न कठिन हुने बताए।

राप्रपा अरुलाई गाली गरेर नभई सुस्पष्ट नीति र कार्यक्रम लिएर देशको अवस्था सुधार गर्न लागि परेको बताउँदै उनले आफ्नो दलसँग रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यलाई अधिकारका रूपमा दिने दृष्टिकोण रहेको दाबी गरे।

सरकारमा सहभागिता जनाएर ४० दिनको अवधिमा भ्रष्टाचार नगर्ने सङ्कल्पलाई पुष्टि गर्नुका साथै कर्मचारीतन्त्र खराब छ भन्ने अफवाहलाई गलत सावित गरेको उनको भनाइ छ।

राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीले मुलुकमा राजनीतिक सङ्कट आएपछि जनता जाग्ने गरेको इतिहास रहेको बताउँदै मुलुकलाई समस्यामा जानबाट रोक्न जनता जागरुक हुनुपर्ने बताए

राप्रपाका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, राप्रपाका नेता मानदेव केरुङ, राजकुमार जोशी लगायतले आफ्ना धारणा राख्नुभएको थियो। राप्रपाबाट वडाध्यक्ष निर्वाचित फिदिम नगरपालिका–४ र १० का वडाध्यक्षद्वय उपेन्द्र लावती र ओमराज थाम्सुहाङ तथा अन्य वडा सदस्यलाई सम्मान गरिएको थियो।

प्रकाशित: Apr 16, 2023| 21:34 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्