काठमाडौं- नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले शान्ति प्रक्रियालाई माओवादी अध्यक्ष प्रचण्डले मागी खाने भाँडो बनाएको आरोप लगाएका छन्।
आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, 'उहाँहरुले त्यति संवेदनशिल विषयलाई पनि टुंग्याउन चाहनुभएन र बाहिर–बाहिर शान्ति प्रक्रिया भनेर भाषण गर्नुहुन्छ। शान्ति प्रक्रिया भन्ने कुरा प्रचण्डको मागी खाने भाँडो भइसकेको छ। बेलाबेला अलि अफ्ठ्यारो पर्यो भने शान्ति प्रक्रिया भन्ने, सरकारमा गएपछि शान्ति प्रक्रिया सबै बिर्सिने।’
उनले प्रधानमन्त्री स्वयंले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंग्याउन नचाहेको दाबी गरे। प्रधानमन्त्रीले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको उनले आरोप लगाए।
फरक प्रसंगमा उनले सरकारसँग संसद् चलाउने कुनै योजना नभएको बताए। उनले भने,‘बिजनेस सरकारले दिने हो। यो सरकारसँग संसद् चलाउने कुनै योजना नै छैन। सत्य निरुपण, मेलमिलाप आयोगसँग सम्बन्धित विधेयक जुन छ, त्यसलाई यो सदनले टुंग्याउनुपर्थ्यो। त्यसमा प्रतिपक्षी दलसँग सामान्य छलफल पनि नगरीकन उहाँहरुले अगाडि सार्नुभयो। त्यसलाई समितिमा लगेर छलफल गरेर टुंग्याउनुपर्छ भन्ने हाम्रो धारणा थियो।'