काठमाडौं- नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउदले परराष्ट्रमन्त्रीका रूपमा शपथ लिएका छन्। साउदले आज दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका हुन्।
शपथलगत्तै उनले सिंहदरबार पुगेर कार्यभार सम्हालेका छन्। पदभार ग्रहण गर्दै उनले छिमेकी देश र विश्वभरका सबै देशसँगको सम्बन्ध घनिष्ठ बनाउँदै लैजाने बताए। प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा पनि मन्त्रालयले काम गरिरहेको र त्यसबारे आफूले ब्रिफिङ लिन बाँकी रहेको उनको भनाइ छ।
‘नेपाल शान्तिपूर्ण मुलुक हो। संसारका सबै देशहरुसँग हाम्रो लामो समयदेखि राम्रो सम्बन्ध छ। हामीले आगामी दिनमा विश्वभरका र छिमेकी देशहरुसँगको सम्बन्धलाई घनिष्ठ बनाउँदै जानेछौं,’ उनले भने।
मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारूढ तीन दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति गरेको थियो। सोहीअनुरुप साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको हो।
गठबन्धनमा कांग्रेसको भागमा ९ मन्त्री परे पनि आन्तरिक किचलोका कारण सबैको नाम दिन सकेको छैन। कांग्रेसबाट यसअघि उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकासमन्त्री बनेका थिए। उनीहरुले चैत १७ गते शपथ लिएका हुन्।
ती सबै संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षका हुन्। मागेजति भाग नपाएको भन्दै शेखर-गगन पक्षले मन्त्रीको नाम दिएको छैन। आज नियुक्त भएका साउद पनि देउवा पक्षकै हुन्। प्रचण्ड नेतृत्वको सरकारमा ९ मन्त्रालय पाएको कांग्रेसले थप ४ जना मन्त्री पठाउन बाँकी छ।
को हुन् साउद ?
साउद विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। पञ्चायतकालीन अवस्थामा कञ्चनपुरको विद्यार्थी आन्दोलनमा सक्रिय भूमिकामा थिए उनी। साउद २०३६ सालमा महेन्द्रनगर माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघ इकाइ सचिव भएका थिए।
विद्यार्थी संगठनहरूमाथि लगाइएको प्रतिबन्ध २०३६ सालमा हटेपछि भएको स्ववियू निर्वाचनमा साउद सचिवमा चुनिएका थिए। त्यतिखेर उनी सिद्धनाथ विज्ञान क्याम्पसमा आइएससी पढ्दै थिए। साउद पछि नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिमा आवद्ध भए। २०४१ सालमा भएको नेपाल विद्यार्थी संघको निर्वाचनमा केन्द्रीय सदस्य भएका साउद २०४८ असोज १६ देखि १९ सम्म चलेको नेविसंघको छैटौं महाधिवेशनबाट केन्द्रीय अध्यक्ष चुनिएका थिए।
साउद २६ वर्षकै उमेरमा नेविसंघको केन्द्रीय अध्यक्ष चुनिएका व्यक्ति हुन्। नेविसंघको इतिहासमा निर्वाचनमार्फत् चुनिएको साउदको कमिटी दोस्रो थियो। त्यसअघि पार्टी नेतृत्वले आफ्नो विश्वासपात्रलाई नेविसंघको अध्यक्ष बनाउने परम्परा थियो।
साउद विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। पञ्चायतकालीन अवस्थामा कञ्चनपुरको विद्यार्थी आन्दोलनमा सक्रिय भूमिकामा थिए उनी।
२०५९ सालमा वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य बनेका थिए साउद। कांग्रेस प्रजातन्त्रिकको ११औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य बने साउद। ०६४ मा कांग्रेस र कांग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा पनि साउद केन्द्रीय सदस्य नै रहे।
एकीकरणपछिको १२औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य विजयी भए। १३औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य भएका उनले १४औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा जित हासिल गरे।
प्रजातान्त्रिक पद्धतिमा बलियो विश्वास राख्ने साउदले २०५१ देखि नै संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न सुरु गरेका हुन्। साउदले २०५६, ०६४, ०७०, २०७४ र ०७९ मा कञ्चनपुरबाट चुनाव लडे।
२०५१ मा पहिलो पटक संसदीय निर्वाचनमा पराजित भएका उनी २०५६ मा विजयी भए। २०६४ मा पराजित साउद २०७० मा निर्वाचित बने। पुन: २०७४ मा पराजित साउद हालैको निर्वाचनबाट निर्वाचित भएका छन्।
साउद यसअघि २०५६ र २०७० मा दुई पटक मन्त्री भएका थिए। उनी २०५६ मा शिक्षा राज्यमन्त्री र २०७० मा सिँचाइमन्त्री भएका थिए। परराष्ट्रमन्त्रीका रूपमा यो साउदको तेस्रो सत्ता यात्रा हो।