शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रवि लामिछानेलाई लक्षित गर्दै चित्रबहादुर केसीले भने- खास्टो ओढेको बिरालो छिट्टै म्याउँ गर्‍यो

रवि लामिछानेलाई लक्षित गर्दै चित्रबहादुर केसीले भने- खास्टो ओढेको बिरालो छिट्टै म्याउँ गर्‍यो

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताएका छन्।

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐनविपरीत ७ दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक भएको विषय उठाउँदै केसीले नयाँ पार्टीले पनि पुरानै प्रवृत्ति देखाएको बताएका हुन्।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले भने, 'ठेक्का दिँदा विधिविधानले स्थापित गरेको मापदण्ड घटाएर जम्मा ७ दिनको बोलपत्र गर्नु कानुनी रुपमा पनि अक्ष्यम्य छ। देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन। जुनसुकै आवरणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनु वाञ्छनीय हुन्छ।’

पुराना पार्टीहरुले आफ्नो स्वार्थअनुसार नियम कानुन बनाउने गरेको भन्दै केसीले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेको नाम नलिई नयाँ पार्टीबाट नागरिकले नयाँ व्यवहार अपेक्षा गरेकामा पूरा हुन नसकेको बताए। ‘पुराना पार्टीहरुले नै गल्ती कमजोरी गरेका थिए, आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउँथे। नयाँ आउने पार्टीले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता छक्क परेर हेरिरहेका थिए। खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो। त्यसैले यस्ता प्रवृत्तिलाई त्यसै छोड्नु हुँदैन।’

नागरिकका वैयक्तिक र जैविक तथ्यांकमा विदेशी कम्पनी र तिनको एजेण्टले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने विषय अस्वीकार्य रहेको केसीले बताए।

प्रकाशित: Apr 16, 2023| 13:54 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्