शुक्रबार, जेठ १, २०८३

संसद् बैठकमा सुनाइयो 'प्रधानमन्त्री हराएको सूचना'

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले देशको प्रधानमन्त्री हराएको भन्दै सूचना बाचन गरेर सुनाएका छन्।

National life

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले व्यंग्यात्मक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै कसैले भेटेमा नयाँ बानेश्वरस्थित संसद् भवनमा बुझाइदिन अनुरोध गरेका हुन्।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन्।

'नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड। अस्थायी ठेगाना कहिले खुलमटार, कहिले बालुवाटार । हुलिया पहिले-पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरा, सुरुवाल र टोपी पनि लगाउने। उमेर ६५ वर्ष नाघेको ७० वर्ष नपुगेको जस्तो देखिने। उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसद्‍मा आउनै छाडेकाले उहाँलाई फेला पार्ने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिमपटक देखिएको स्थान बालुवाटार आसपास,'  पन्तले भने।

जवाफमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आज दिउँसो ३ बजे राष्ट्रपति निवास शीतल निवासमा मन्त्रीको शपथ रहेको भन्दै प्रधानमन्त्री त्यहीँ भेटिने बताए। सांसद खतिवडाले पन्तलाई दौरा सुरुवाल लगाएर शीतल निवास जान पनि सुझाए। कांग्रेस सांसद एनपी साउदले आज पररष्ट्रमन्त्रीको रुपमा शपथ ग्रहण गर्दैछन्।

खतिवडाले भने, 'भर्खरै प्रधानमन्त्री हराएको सूचना सुन्न पाइयो। आज ३ बजे शपथग्रहण छ भन्ने सुनेको छु। सूचना गर्ने माननीयज्यूलाई ३ बजे त्यहाँ उपस्थित हुन अनुरोध छ। दौरा सुरुवालमा जानुहोला।'

प्रकाशित: Apr 16, 2023| 13:48 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्