काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। प्रचण्डको आठौंपटकको मन्त्रिपरिषद् विस्तारमा परराष्ट्रमन्त्रीको रूपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने छन्।
कांग्रेसले अन्य मन्त्रीको टुंगो लगाउन नसके पनि प्ररराष्ट्रमन्त्रीको भने टुंगो लगाएको हो।
गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए। त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए। आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ। प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन्।
प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ। तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ।