काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा महाविपत्ति आएको छ भन्ने सोचेर सरकारले काम गर्नुपर्ने बेला आएको बताएका छन्।
शनिबार नेपाली कांग्रेस मकवानपुर-काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन्।
मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने उनको भनाइ छ। उनले भने, 'चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस्। चाहे त्यो प्रदेश मन्त्री वा प्रधानमन्त्री होस्। उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ, संकटको बेला छ, त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नुपर्छ। अनिमात्रै परिणाम दिन सकिन्छ।'
महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए। सरकारले राम्रो काम गर्दै गए ३-४ महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको आशा छ। अहिले कांग्रेस सरकार रहेको र सरकारमा रहेकैले काम गर्नुपर्ने बताउँदै उनले भने, 'यहाँ बसेर हामीले परिणाम दिने हो। यसमा हामीले ठिक ढंगले काम गर्न सक्यौं भने अबको ३-४ महिनाभित्रमा फेरि देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन। स्थिति ठिक छैन, असहज छ। राम्रोसँग सम्हालेनौं भने बिग्रँदै जान्छ।’
२०८० सालमा कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि महामन्त्री थापाको धारणा थियो। त्यस्तै कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै वर्तमान निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्ने सुझाए।